हेटौँडा । बागमती प्रदेशमा युवा नीतिको मस्यौदा तयार भएको छ । प्रदेश युवा परिषदले ऐनमा व्यवस्थाभए बमोजिमको प्रदेश युवा नीतिको अन्तिम मस्यौता तयार पारेर प्रदेश सरकारलाई हस्तान्तरण समेत गरेको छ ।
परिषदले आरके ढुंगनाको संयोजकत्वमा महेन्द्र पौडेल, कोपिला पोखरेल, सुशीलराज गिरी र रमेश घिमिरे सदस्य रहेको समिति निर्माण गरि प्रदेश युवा नीतिको मस्यौदालाई अन्तिम रुप दिएको हो ।
समितिले विभिन्न चरणमा सरोकारवालासँगको अन्तरक्रिया, छलफल, विभिन्न अनुसन्धानको आधारमा युवा नीति तयार गरी सरकारको युवा तथा खेलकुद मन्त्रालयलाई पेश गरेको बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाईले बताए ।
प्रदेशको भुगोल र यहाँका युवाको वर्तमान अवस्था किटान नगरी अपेक्षित लक्ष्य हासिल गर्न नसकिने हुँदा युवा नीति निर्माण कार्य अघि सारेको उनको भनाई छ ।
युवा नीतिले प्रदेश सरकारले आगामी दिनमा गर्ने युवाको सबै पक्षको विकाससम्बन्धी सम्पूर्ण कार्यक्रमहरुको मार्गनिर्देशन, प्रदेशको सम्बृद्धिका निम्ति युवालाई कति वर्षमा कुन स्तरमा पुर्याउने र त्यसको लागि कस्तो संरचनागत बिकास र जनशक्ति विकासको कार्यक्रम ल्याउने भन्ने कुरालाई लाई निर्देशित गरेको उनको भनाई छ ।
परिषद्ले युवासम्बन्धी विषयहरुको प्रदेशस्तरीय नीति, कानून, योजना, निर्देशिका, कार्यविधि, मापदण्डहरुको निर्माण गरी कार्यान्वयन गरेको भन्दै उनले नीतिले प्रदेशलाई समृद्ध बनाउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारीमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्न प्रोत्साहन गरेको बताए ।
युवा नीतिमा उद्यमशीलता, सिप विकास र रोजगारी सिर्जना, कृषि, पर्यटन, उर्जा, पूर्वाधार र रोजगारीका महत्वपूर्ण क्षेत्रमा युवाको सहभागिता, सवल र स्वस्थ युवा निर्माणकामा युवाका लागि स्वास्थ्य र सामाजिक सुरक्षाको सुनिश्चितता लगाएतको विषयलाई पनि महत्वको साथमा प्रस्तुत गरिएको छ ।

Leave a Reply