‘विचारभन्दा माथि देश’ मतदातालाई निःशुल्क बाँड्न रवीन्द्र मिश्रलाई १५ लाखको ‘स्पोन्सर’

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफ्नो प्रकाशोन्मुख पुस्तक ‘विचारभन्दा माथि देश’ आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई बाँड्ने भएका छन् । उनलाई सो पुस्तक निःशुल्क वितरण गर्न उल्लेख्य ‘स्पोन्सर’ समेत प्राप्त भएको छ ।

हिन्दू–बौद्ध राष्ट्र र राजतन्त्रको पक्षमा खुल्दै मिश्रले लेखेको ‘विचारभन्दा माथि देश’ पुस्तक दुई सातापछि प्रकाशन हुँदैछ । उक्त किताब काठमाडौं–१ का घर-घरमा बाँड्ने लक्ष्य लिएको भन्दै उनले हिजो मात्रै फेसबुकमा केही किताब स्पोन्सर गरिदिन शुभेच्छुकलाई आह्वान गरेका थिए । त्यसको २४ घन्टाभित्रै एकै व्यक्तिले १ हजार प्रतिसम्म स्पोन्सरको प्रतिबद्धता जनाएको मिश्रले जानकारी दिए ।

हालसम्म उनलाई १५ लाख रुपैयाँ बराबरको स्पोन्सर भइसकेको छ । जसबाट उनले ५ हजार प्रति पुस्तक निःशुल्क वितरण गर्न सक्नेछन् । किताब प्रकाशनपूर्व नै यति ठूलो रकम स्पोन्सर भएको नेपाली साहित्य इतिहासमा नै नयाँ घटना हो ।

मिश्रले विवेकशील साझा पार्टीमा विचारभन्दा माथि देशको अवधारणा अघि बढाएपछि विवाद उत्पन्न भएको थियो । मार्ग परिवर्तन भन्दै त्यसवेला उनले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने अडान लिएका थिए । गत स्थानीय चुनावमा पार्टीले राम्रो नतिजा ल्याउन नसकेपछि उनले अध्यक्षबाट राजीनामा दिएका थिए । उनी हाल विवेकशील साझाको साधारण सदस्यको हैसियतमा छन् ।

मिश्रले काठमाडौं १ बाट दोस्रोपटक प्रतिनिधिसभाको चुनाव लड्ने मनस्थितिमा छन् । त्यसपूर्व उनले आफूलाई राजतन्त्रको पक्षमा उभ्याएका हुन् । सोही कारणले उनको प्रकाशोन्मुख पुस्तकप्रति निकै जनचासो छ । यस पुस्तकको मूल्य ४५० रुपैयाँ तोकिएको छ । त्यसमा लेखकले पाउने १५० रुपैयाँ छुट कटाउँदा मिश्रका लागि ३०० रुपैयाँ मूल्य पर्छ । यही मूल्यअनुसार ५ हजार प्रति आफैंले किनेर निःशुल्क बाँड्ने सुविधा उनलाई मिलेको हो ।

मिश्रको नयाँ पुस्तक फाइन प्रिन्टले प्रकाशन गर्दैछ । पहिलो लटमा नै १५ हजार प्रति प्रकाशित गर्न लागिएको छ । मिश्रको अघिल्लो पुस्तक ७ हजार प्रति बिक्री भएको थियो । त्यसबाट प्राप्त ६ लाख रुपैयाँ रोयल्टी मिश्रले विवेकशील साझा पार्टीलाई डोनेट गरेका थिए । नयाँ पुस्तकको रोयल्टी पनि आफूले परोपकारी काममै खर्च गर्ने बताएका छन् ।

Comments

One response to “‘विचारभन्दा माथि देश’ मतदातालाई निःशुल्क बाँड्न रवीन्द्र मिश्रलाई १५ लाखको ‘स्पोन्सर’”

  1. संयोग थापा Avatar
    संयोग थापा

    एउटा क्षेत्रमा मात्रै किन देशका हरेक कुना कुनाका नागरिकले पढ्ने वातावरण बनाउनु आवश्यक छ ……

Leave a Reply

Your email address will not be published. Required fields are marked *