भक्तपुर । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा एमालेका महेश बस्नेत प्रतिद्वन्द्वीभन्दा झण्डै डोब्बर मतले विजयी भए । बस्नेतले साधारण प्रतिद्वन्द्वीलाई हराएका थिएनन् । उनले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका पूर्वसभामुख दमननाथ ढुंगानालाई हराएका थिए ।
उक्त निर्वाचनमा बस्नेत ३६ हजार ४१२ मतसहित विजयी हुँदा ढुंगाना १८ हजार हजार ६८७ मतमा समेटिएका थिए । भक्तपुरका २ निर्वाचन क्षेत्रमध्ये कांग्रेस तुलनात्मक रुपमा बलियो यही क्षेत्रमा थियो । जिल्लाका चार नपामध्ये मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका यस क्षेत्रमा पर्छन् । जहाँ कांग्रेस अगाडि थियो । उक्त बलको आधारमा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल विजयी भएका थिए ।
यसरी कांग्रेस बलियो रहेको क्षेत्रमा केन्द्रले हस्तक्षेप गरी पूर्वसभामुख ढुंगानालाई टिकट दियो । जसविरुद्ध भक्तपुर कांग्रेसले विद्रोह नै गरेको थियो । भक्तपुरका कांग्रेसीहरु स्थानीय नेतालाई नै पार्टीले टिकट दिनुपर्ने पक्षमा थिए । जसलाई नमान्दा कांग्रेस नराम्ररी पराजित भयो । मतदाताले पनि ढुंगानालाई ‘टुरिस्ट उम्मेदवार’ भन्दै अस्वीकार गरेको देखियो ।
तर अहिले स्थिति फेरिएको छ । वाम गठबन्धन टुक्रिएर सत्ता गठबन्धन बनेको छ । जसले वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले पछाडि पर्यो । कांग्रेससहित नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाको सत्ता गठबन्धन यस क्षेत्रमा पहिलो स्थानमा देखिएको छ ।
यस क्षेत्रको दुई नपामध्ये मध्यपुर थिमिमा गठबन्धनबाट मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा माओवादीका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा यहाँ नेमकिपाको सहयोगमा एमालेले मेयर जित्दा उपमेयर कांग्रेसले हात पारेको थियो ।
सूर्यविनायक नगरपालिकामा भने अघिल्लोपटकजस्तै यसपटक पनि एमालेले मेयर र उपमेयर जितेको छ । तर, उसले पहिले जितेका २ वटा वडा गुमाउनुपर्यो । जुन कांग्रेसले हात पार्यो । एमालेले २०७४ को स्थानीय निर्वाचनमा पाएको मत यसपटक खुम्चिँदा कांग्रेसले बढाएको देखिन्छ । यसमा माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत मत जोड्दा आगामी निर्वाचनमा सत्ता गठबन्धन जीत नजिक देखिन्छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत क्षेत्र नं २ मा रहेका मध्यपुर थिमि र सूर्यविनायक नपामा सत्ता गठबन्धनका वडा अध्यक्षहरुले पाएको मत २७ हजार ६२९ रहेको छ । एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले २४ हजार १४५ मत ल्याएका छन् ।
को को छन् दावेदार ?
सत्ता गठबन्धन अगाडि देखिएको यस क्षेत्रको टिकटमा कांग्रेस निर्विकल्प हो । यस क्षेत्रमा कांग्रेसबाहेक गठबन्धनका अन्य दलले दाबी पनि गरेका छैनन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यस क्षेत्रमा कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापा नै उम्मेदवार हुने पूर्वघोषणा गरिसकेका छन् । त्यसैले नेता थापा हौसिएका छन् । देउवाले भक्तपुर नै पुगेर आफूलाई हराउन चुनौती दिएका एमाले नेता महेश बस्नेतलाई आगामी निर्वाचनमा पहिले दुर्लभ थापालाई हराएर देखाउन भनेका थिए । यस आधारमा कांग्रेसबाट दुर्लभ थापा निर्विकल्प दावेदार हुन् ।
तर, कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र वरिष्ठ पत्रकार कविर राणाले पनि यस क्षेत्रमा उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । भक्तपुरका कांग्रेसी नेताहरुका अनुसार यसपटकलाई क्षेत्र नं २ मा दुर्लभले टिकट पाउने निश्चितै हो । मदनकृष्ण र कविरले प्रदेशमा भए पनि टिकट पाउने आशमा क्षेत्रमा दाबीमात्रै गरेको उनीहरुको भनाइ छ ।
‘स्थानीय तह निर्वाचनमा कमाण्ड गरेर पार्टीलाई शक्तिमा ल्याउन सफल दुर्लभ थापाले क्षेत्र नं २ बाट टिकट पाउने कन्फर्म हो’, जिल्लाका एक नेताले भने, ‘अरुले प्रदेशसभाको भए पनि टिकट पाइएला कि भनेर बार्गेनिङ गर्न प्रतिनिधिसभामा दाबी गरेकोमात्रै हो ।’
एमालेबाट वर्तमान सांसद महेश बस्नेत हेभीवेट उम्मेदवार हुन् र उनले विकास निर्माणमा आफ्नो भूमिका देखाएर मतदातालाई आकर्षित गर्न खोजेका छन् । यद्यपि पार्टीभित्र अन्य आकांक्षी पनि छन् । उनलाई रोक्न एमालेकै नेताहरु लागिपरेका छन् । एमालेबाट महेशसँगै निर्मल भट्टराईले टिकटमा दाबी गरेका छन् ।
‘पार्टीभित्र टिकटको लागि कडा प्रतिस्पर्धा भइरहेको छ । आआफ्नो योग्यता सावित गर्ने प्रक्रिया अघि बढेको छ’, एमाले भक्तपुरका एक नेताले भने, ‘वरिष्ठ र कनिष्ठ नै भन्ने हो भने महेशभन्दा सिनियर नेता भक्तपुरमा धेरै छन् । आन्तरिक प्रतिस्पर्धा गर्दा पनि उहाँभन्दा अरु नेताहरु कम सक्षम छैनन् ।’
तर, पार्टी अध्यक्ष केपी ओलीका ‘खास’ महेशबाहेक अन्य नेता कार्यकर्ताले टिकट पाउने सम्भावना क्षीण रहेको एमाले नेताहरु बताउँछन् ।
एमाले जिल्ला अध्यक्ष वचन देउजाले अहिलेसम्म कुनै पनि नेता तथा कार्यकर्ताहरु टिकटमा दाबी गर्दै खुलेर नआएको बताए । उनले पार्टीभित्र समेत टिकटबारे छलफल भइनसकेको जानकारी दिए । तर, अध्यक्ष देउजाले नेता बस्नेत नै दोहोरिने संकेत भने गरे ।
त्यस्तै सत्ता गठबन्धनमा आवद्ध माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा दीपशिखाले पनि भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवार हुने आकांक्षा व्यक्त गरेका छन् । मध्यपुर थिमि नपा- ३ मा घर बनाएर बस्न थालेका दीपशिखाले भोटरलिस्टमा समेत नाम समावेश गराइसकेका छन् । तर, गठबन्धनबाट कांग्रेसको भागमा पर्ने क्षेत्र नं २ मा दीपशिखाको आकांक्षा पनि अन्य पदमा बार्गेनिङ गर्ने मेसोमात्रै भएको माओवादीकै नेताहरु बताउँछन् । गठबन्धनभित्र माओवादीले भक्तपुरमा प्रदेशसभामा मात्रै दाबी गरेको छ ।
नेमकिपा र राप्रपा निर्णायक
यस क्षेत्रमा सत्ता गठबन्धन र एमालेबीच करिब ३ हजार ५ सय मतको मात्रै अन्तर छ । यस हिसाबले यस क्षेत्रमा ४ हजार ९२५ मत रहेको नेपाल मजदुर किसान पार्टी र ४ हजार १७३ मत भएको राष्ट्रिय प्रजातन्त्र पार्टी निर्णायक देखिएका छन् । नेमकिपाको कुनै पनि दलसँग गठबन्धन वा तालमेल गर्ने नीति छैन । उसले अनुराधा थापामगरलाई नै दोहोर्याउने सम्भावना छ ।
तर, राप्रपाले चुनावी तालमेलका लागि एमालेसँग छलफल गर्दै आएको छ । यस आधारमा एमाले र राप्रपाबीच मात्रै तालमेल भए यहाँ सत्ता गठबन्धनले पल्टा खाने देखिन्छ । राप्रपा भक्तपुरले भने केन्द्रीय निर्णयपछि मात्रै उम्मेदवारी दिनेबारे टुंगो लाग्ने जनाएको छ । राप्रपाका केन्द्रीय उपमहामन्त्री रवीन्द्रप्रताप शाहले पार्टीले निर्णय नदिएसम्म केही भन्न नसकिने बताए ।
केन्द्रले एमालेसँग चुनावी तालमेल गर्न छलफल अघि बढाइरहेकाले भक्तपुरमा पनि सोहीअनुसार हुने उनको भनाइ छ । उनले एमाले वा सत्ता गठबन्धन जोसँग चुनावी तालमेल भए पनि प्रतिनिधिसभाका दुइटै सीट छाडेर प्रदेशसभाका ४ सीटमध्ये २ सीटमा राप्रपाको दाबी हुने बताए ।
‘भक्तपुरमा हामी निर्णायक अवस्थामा छौं’, नेता शाहले भने, ‘त्यसैले हाम्रो हैसियतअनुसार २ प्रदेशसभाकाे सीट नमिले एक्लाएक्लै निर्वाचनमा जान्छौं । निर्वाचनमा हारजीत हुन्छ, त्यसलाई राप्रपाले स्वाभाविक मान्छ, स्वाभाविक नमान्नेले राप्रपाको शक्तिलाई पनि स्वीकार गर्नुपर्छ ।’
प्रदेशसभामा कहाँ कसको दावी ?
प्रदेशसभा क्षेत्र नं १
जिल्लाको सूर्यविनायक नपा प्रदेशसभा क्षेत्रमा २०७४ सालमा वाम गठबन्धनबाट एमालेका शशिजंग थापा विजयी भएका थिए । शशिजंग अहिले पनि एमालेमै छन् । त्यसैले यस क्षेत्रमा सत्ता गठबन्धनका कांग्रेस र एकीकृत समाजवादीले दावी गरेका छन् । स्थानीय निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए । मेयर कांग्रेसले लिँदा एसलाई उपमेयर दिएको थियो । सोहीअनुसार क्षेत्र कांग्रेसलाई दिने निश्चित भएपछि एसले मध्यपुरसँगै सूर्यविनायक प्रदेशमा दावी गरेको छ ।
‘हाम्रो संगठन मध्यपुर र सूर्यविनायकमा बलियो छ । सोहीअनुसार हामीले प्रदेशसभामा यी दुई क्षेत्रमा दाबी गरेका हौं’, एसका भक्तपुर अध्यक्ष श्यामसुन्दर बस्नेतले भने, ‘सहमति भए प्रदेशको क्षेत्र यताउता हुनसक्छ ।’
उनले स्थानीय तहमा कांग्रेसबाट अपेक्षाकृत गठबन्धनका उम्मेदवारलाई मत नआएको भन्दै आगामी निर्वाचनमा पनि कांग्रेस इमानदार नभए आफ्नो पार्टीले मात्रै होइन गठबन्धनकै हातलाग्यो शून्य हुनसक्नेतर्फ सचेत गराए ।
कांग्रेसबाट पूर्वजिल्ला सचिवद्वय विष्णुराज कार्की र उद्धव सिलवाल, वर्तमान सचिव सुशील बस्नेत, कृष्णमुरारी न्यौपाने, पूर्वक्षेत्रीय सभापति नारायणभक्त खायमली र राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुरेन्द्र केसीले उम्मेदवारीमा दावी गरेका छन् ।
त्यस्तै एमालेबाट पूर्वजिल्ला अध्यक्ष राजेन्द्र राजथला, वर्तमान प्रदेश सांसद शशिजंग थापा, सूर्यविनायक नपा ८ का पूर्ववडा अध्यक्ष किरण थापाले आकांक्षा राखेका छन् ।
प्रदेशसभा क्षेत्र नं २
सिंगो मध्यपुर थिमि नगरपालिका रहेको क्षेत्रबाट निर्वाचित राजेन्द्रमान श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन् । उनी एकीकृत समाजवादीका पोलिटव्युरो सदस्यसमेत हुन् । त्यसमाथि सत्ता गठबन्धनको ‘पहिले जहाँ जो जितेको उसैलाई दिने’ फर्मुला लागू भए यो प्रदेशसभा एकीकृत समाजवादीकै भागमा पर्ने निश्चित देखिन्छ । तर, नेता श्रेष्ठ भने पार्टीले निर्णय नगरेसम्म आफू दोहोरिन्छु भनेर भन्न नसकिने बताउँछन् ।
सत्ता गठबन्धनबाट यस प्रदेशसभामा माओवादीको दाबी छ । ‘हामीले प्रतिनिधिसभातर्फका २ क्षेत्रमा दाबी गरेका छैनौं । तर, चार प्रदेशसभामध्ये २ क्षेत्र माग गरेका छौं’, माओवादी केन्द्र भक्तपुरका अध्यक्ष सुनिल गोथेले भने, ‘यसमा क्षेत्र नं १ तर्फ चाँगुनारायण र क्षेत्र नं २ तर्फ मध्यपुर थिमिमा हाम्रो दाबी छ ।’
उनले टिकट निश्चित नभएसम्म उम्मेदवार बन्नेहरु निश्चित नहुने बताए । साथै पार्टीमा अहिलेसम्म कसैले दाबी नगरेको उनको भनाइ छ । माओवादी स्रोतका अनुसार पार्टीले मध्यपुर थिमि प्रदेशसभा पाए केन्द्रीय सदस्य भीष्म प्रजापति चुनावी मैदानमा उत्रनेछन् । उनी माओवादीका भक्तपुर इन्चार्जसमेत हुन् ।
स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धनबाट मध्यपुर थिमि नपामा मेयर र उपमेयरसहित बहुमत वडा अध्यक्ष जितेको थियो । सोही आधारमा माओवादीले यहाँको प्रदेशसभामा दाबी गरेको जिल्ला अध्यक्ष गोथेको भनाइ छ ।
यस प्रदेशमा कांग्रेसका आधा दर्जन नेताहरुले आकांक्षा राखेका छन् । कांग्रेसबाट पूर्वजिल्ला सभापतिद्वय महेश श्रेष्ठ, गणेशमान चक्रधर, नगर सभापति हरिदास प्रजापति, अष्टकुमार कवे, सन्तोष भट्टराई र मुरारी आचार्यले टिकटमा दाबी गरेका छन् ।
एमालेका पनि आधा दर्जन हाराहारीकै नेताहरु दावेदार छन् । एमालेबाट भास्कर प्रधानाङ, चन्द्रभक्त श्रेष्ठ, सूर्यलाल श्रेष्ठ, चन्दनकृष्ण श्रेष्ठ र मध्यपुरका पूर्वमेयर मदनसुन्दर श्रेष्ठले टिकटमा दावी गरेका छन् । भास्कर नेकपा विभाजित हुँदा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतसँगै एमालेमै बसेका पूर्वमाओवादी नेता हुन् । माओवादीमा भक्तपुर अध्यक्षसमेत भइसकेका भास्कर माओवादीका पूर्वनेता एवं पूर्वमन्त्री रवीन्द्र श्रेष्ठका भाइ हुन् ।

Leave a Reply