सुकुम्बासीले जलाए मधेसका मुख्यमन्त्रीको पुत्ला, जनकपुर तनावग्रस्त (तस्बिरहरू/भिडिओ)

जनकपुरधाम । मधेसको राजधानी जनकपुरधामस्थित मिल्स एरियामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने क्रममा चुरे अभियानी तथा सुकुम्बासीहरुसँग प्रहरीको झडप भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय नजिकै चुरे अभियानी तथा सुकुम्बासीहरु मुख्यमन्त्री राउतको पुत्ला जलाएका हुन् । पुत्ला जलाउनमा प्रहरीले अवरोध गर्दा झडप भएको बताइएको छ ।

पुत्ला दहन कार्यक्रममा ठूलो संख्यामा दलित तथा सुकुम्बासी महिलाहरु सहभागी थिइन् । उनीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दीको प्रयाससमेत गरेका थिए । सो क्रममा सयौं महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुख्यमन्त्रीको पुत्ला दहन तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तालाबन्दी गर्ने जस्ता विरोधको कार्यक्रम चुरे तथा वन जंगल संरक्षण अभियानले राखेको थियो । अभियानका संयोजक सुनिल यादवका अनुसार प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर १५० जनालाई पक्राउ गरेको बताए ।

सिरहाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा फिर्ता लिनुपर्ने, सक्कली सुकुम्बासीलाई अविलम्ब जग्गा उपलब्ध गराउनुपर्ने, नक्कली सुकुम्बासीले वनको जग्गा वितरण गर्ने कार्य रोक्नुपर्ने लगायतका माग राखेर अभियान निरन्तर आन्दोलन गर्दै आएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *