काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा ८७ वटा राजनीतिक दल भाग लिन पाउने भएका छन् । राजनीतिक दलबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातको अध्ययन र जाँचबुझ गर्दा ८७ राजनीतिक दल कायम गरिएको आयोगले जनाएको हो ।
निर्वाचनमा भाग लिने प्रयोजनका लागि ७९ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम गरिएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।
त्यसैगरी पदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि प्रदेश एकमा ६२ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७० रहेको आयोगले जनाएको छ ।
मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७५, बागमती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७२, गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६६ रहेको छ ।
यस्तै, लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६८, कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ रहने गरी आयोगले निर्णय गरेको छ ।
आयोगले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्ह प्रदान र निर्वाचन चिन्हको क्रम निर्धारणसम्बन्धी निर्णय गरेको हो । आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधि भित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि चार वटा निवेदन गरी जम्मा ८४ वटा निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।
बाबुराम भट्टराईकाे नेपाल समाजवादी पार्टी लगायतका दलले आफ्नो निर्वाचन चिन्हबाट लड्न नपाउने
यसैबीच डा. बाबुराम भट्टराईले आफ्नो पार्टी नेपाल समाजवादी पार्टीको निर्वाचन चिन्हबाट निर्वाचन लड्न नपाउने भएका छन् । माओवादी केन्द्रको निर्वाचन चिन्हबाट संयुक्त रुपमा निर्वाचनमा सहभागि हुने र आफ्नै पार्टीको निर्वाचन चिन्हमा पनि निर्वाचनमा सहभागि हुने भनेर आयोगमा दल दर्ता गराए पनि निर्वाचन आयोगले पनि संयुक्त रुपमा मात्र निर्वाचन लड्न पाउने निर्णय गरेको हो ।
निर्वाचनमा सहभागी हुन नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिट पार्टी (माओवादी केन्द्र), र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) गरी ५ वटा राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागि हुने भन्दै निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका थिए । ती दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुने गरी दल दर्ताको निवदेन पेश गरेको हुँदा ती दललाई छुट्टै दलको रूपमा दर्ता नगर्ने निर्णय आयोगले गरेको हो ।
तीन दलले पाए दाबी गरेअनुसारकै निर्वाचन चिन्ह
यस्तै आगमी निर्वाचनमा सहभागी हुनका लागि विभिन्न ३ राजनीतिक दलले दाबी गरेकै निर्वाचन चिन्ह दिने आयोगले निर्णय गरेको छ । राष्ट्रिय यथार्थवादी पार्टी, नेपालले मोटरसाईकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङगे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिन्ह प्राप्त गरेका हुन् ।
ति दलले दल दर्ताको निवेदन पेश गर्दा माग त्यही निर्वाचन चिन्ह माग गरेकाले मागबमोजिम कै निर्वाचन चिन्ह प्रदान गर्ने र उक्त चिन्ह ति दलको निर्वाचन चिन्हको रूपमा रहने गरी अभिलेखीकरण गर्ने निर्णय आयोगले गरेको छ ।
अघिल्लो निर्वाचनमा प्राप्त गरेको मतका आधारमा मतपत्रमा निर्वाचन चिन्ह राखिने
यसैबीच निर्वाचन आयोगले अघिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत संख्याको आधारमा मतपत्रमा निर्वाचन चिन्ह राख्ने निर्णय पनि गरेको छ ।
दर्ता भएका राजनीतिक दलमध्ये निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने निर्णय भएको हो ।
तर, यस अघिको निर्वाचनमा प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगमा दल दर्ता भएको क्रम संख्याको आधारमा मतपत्रमा निर्वाचन चिन्ह समावेश गर्ने निर्णय भएको छ । यसरी निर्धारण गरिएका निर्वाचन चिन्ह नेपाल राजपत्रमा प्रकाशन गर्ने पनि आायोगले निर्णय गरेको छ ।

Leave a Reply