भक्तपुरमा धुमधामसँग मनाइयो ३६७ वर्ष पुरानो पञ्चदान पर्व

भक्तपुर । भक्तपुरका बौद्धमार्गीले बिहीबार पञ्चदान पर्व धुमधामसँग मनाएका छन् । प्रत्येक वर्ष भाद्र कृष्ण पक्ष त्रयोदशीका दिन भक्तपुरमा पञ्चदान पर्व मनाइने प्रचलन छ । अघिल्ला वर्ष कोरोना भाइरस संक्रमणले प्रभावित पञ्चदान पर्व यस वर्ष हर्षोल्लाषका साथ मनाइएको हाे ।

बौद्ध दर्शनमा दानदातव्यलाई पवित्र मानिएको छ । त्यसैले पञ्चदान पर्वमा नेपालभाषी बौद्धमार्गीहरुले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाई अन्न, फलफूल र दक्षिणा दिन्छन् ।

यस पर्वमा पृथ्वीमा उब्जने तथा फल्ने पाँचथरि अन्नको दान दिने भएकाले यसलाई पञ्चदान भनिने बौद्धमार्गीहरु बताउँछन् । यस दिन भक्तपुरसँगै काठमाडौं, ठिमी र बनेपालगायतका ठाउँमा पञ्चदान पर्व मनाइन्छ ।

नेपालबाट तिब्बत गएका बौद्धमार्गीहरुले चीनको स्वशासित क्षेत्र तिब्बतमा समेत यसै दिन पञ्चदान पर्व मनाउने गरेका छन् । तर, ललितपुरमा भने यो पर्व श्रावण शुक्ल अष्टमीका दिन मनाइन्छ ।

नेपाल संवत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले पञ्चदान पर्व प्रचलनमा ल्याएको किम्बदन्तीमा उल्लेख छ । यसअनुसार पञ्चदान पर्व ३६७ वर्ष पुरानो छ ।

भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्वका पाँचवटा महाविहारमा विराजमान रहेका दीपंकर बुद्धलाई नगर परिक्रमा गराइएको छ । क्वाठडाैंस्थित प्रशन्नशील, गोल्मढीको झौरबही, साकोठाको चतुर्ब्रम्ह, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत महाविहारमा रहेका पाँच दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराइएको छ ।

यी पाँच दीपंकर बुद्धलाई भक्तपुर नपा ९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा पूजा गरी बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल-टोलमा परिक्रमा गराइएको छ । ती दीपंकर बुद्धसँगै बौद्धमार्गीहरु बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी भएको छन् । बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत भिक्षाटनमा सहभागी भई अन्न, फलफूल र दक्षिणा दान थाप्छन् ।

बौद्धमार्गीहरुसँगै भक्तपुरका विभिन्न धर्म, जाति, भाषा र सम्प्रदायका सर्वसाधारणले आफ्नो क्षमताअनुसार पञ्चबुद्धलाई दान गरेका छन् । बौद्धमार्गीहरुले आफू बुद्धको अनुयायी भएको कारण आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र यसै दिन उक्त दान प्रदान गर्ने भक्तपुर बौद्ध सम्पदा संघका पूर्वअध्यक्ष पद्मसुन्दर शाक्यले बताए ।

उनका अनुसार बुद्ध धर्ममा प्रवजित बालकदेखि वृद्धसम्मका बौद्धमार्गीहरुले दान थाप्छन् । दान थाप्ने बौद्धमार्गीहरुले बौद्ध आचरणअनुसार नुहाइधुवाई गर्नुपर्छ । पञ्चशील पालन गरी उक्त दिन खीर, दूध, फलफूलमात्र भोजन गर्नुपर्छ ।

भक्तपुर नगरको पूर्वस्थित आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा सम्पन्न गरिन्छ । पूजा सकिएपछि दीपंकर बुद्धहरुलाई बाजागाजासहित टौमढीस्थित पश्चिम डबलीमा विराजमान गराएर पञ्चदान पर्व समापन गर्ने प्रचलन छ । समापनका बेला टौमढीमा दान गाथा र स्त्रोत्र वाचनसँगै गुँला बाजा बजाइन्छ ।

परम्परागत बौद्ध युवा संघका महेन्द्रराज शाक्यले दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, दाफा भजन श्रृङ्गभेरी बाजा आदि सांगीतिक समूहहरुले आआफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन रहेको बताए । त्यस्तै परम्परागत विहार र बहीहरुमा संरक्षित बौद्ध सम्पदाहरुको प्रदर्शनसमेत गरिने उनले बताए ।

तस्वीरहरु : मिलन गणेजू/भक्तपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *