काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपुतले अनसन तोड्ने भएकी छन् । आफुसँग सरकारले गरेको ५ बुँदे सहमति कार्यान्वनय नगरेको भन्दै निहारिका दोस्रो पटक साउन २० गतेदेखि दोस्रो पटक अनसन बसिरहेकी छन् ।
निहारिकालाई अनसन तोडाउन कानुन, न्याय तथा संसददीय मामिलामन्त्री गोविन्द शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खाती प्रहरी अस्पताल महाराजगञ्ज पुगेका छन् ।
आफ्नो २ वर्षको बच्चासहित दोस्रो पटक अनशन बस्न सिंहदरबारको दक्षिण गेट पुगेकी उनलाई प्रहरीले त्यहाँबाट लखेटेपछि वसन्तपुर गएर अनसन बसेकी थिइन् ।
एक पुरुषले आफूमाथि बलात्कार गरेको र बच्चा जन्मिएपछि छोडेको निहारिकाको आरोप छ । जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । तर, सो अदालतले पेसी नतोकेर मुद्दालाई अलपत्र बनाइरहेको गुनासो उनको छ ।
गत १८ गते उनको मुद्दाको पेसी थियो । पेशीका लागि उनी बिरामी बच्चा बोकेर जनकपुर पुगेकी थिइन् । त्यहाँ गएपछि २५ गतेलाई पेसी सारिएको छ । बच्चाको डिएनए टेस्ट गराउनुपर्ने तथा आरोपीलाई पक्राउ गर्नुपर्ने माग निहारिकाले राखेकी छन् ।
न्यायको माग गर्दै पहिलो पटक २७ जेठदेखि एक साता आमरण अनसनमा बसेकी निहारिकाले ५ बुँदे सहमतिपछि गृहमन्त्री बालृकृष्ण खाणको हातबाट अनसन तोडेकी थिइन् ।
यसअघि प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र निजको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।
सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुवरले हस्ताक्षर गरेका थिए ।

Leave a Reply