प्रचण्डसँग ‘लभ एण्ड हेट’ को सम्बन्धले कान्छाबहादुरलाई जुरेको महासचिव पद

काठमाडौं । पदाधिकारी चयनको निकै रस्साकस्सीपछि अन्ततः देव गुरुङ नेकपा माओवादी केन्द्रको महासचिव बनेका छन् ।

राष्ट्रिय महाधिवेशन सकिएको ८ महिनासम्म माओवादीले पदाधिकारी टुंगो लगाउन सकेको थिएन । वर्षमान पुन र जनार्दन शर्माको सशक्त दाबेदारीका कारण महासचिव चयनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सकस परिरहेको थियो । त्यही भएर शर्मा र पुन दुवैलाई उपमहासचिवमा राखेर प्रचण्डले तेस्रो विकल्पको रूपमा गुरुङलाई अघि सारेका छन् ।

गुरुङको जन्म मनाङ नासोङ गाउँपालिका ४ मा भएको हो । २०३८ सालमा नेकपा मसालको केन्द्रीय सदस्य हुँदै उनी २०४० मा अखिल आठौंको केन्द्रीय अध्यक्ष बनेका थिए ।

२०४७ सालको पार्टी एकतापछि गुरुङ नेकपा एकता केन्द्रको केन्द्रीय सदस्य बने त्यसपछि २०४८ मा उनी ‘एक वाम एक ठाम’ को नारा लिएर लमजुङ १ मा संयुक्त जनमोर्चाबाट चुनाव लडेका थिए ।

गुरुङले २०५३ देखि ४ वर्ष जेलजीवन बिताए । भूमिगत कालमा उनी २०६१ सालमा स्थायी समिति सदस्य, २०६२ मा नेकपा माओवादीको तर्फबाट सरकारसँग दोस्रो वार्ताटोलीको सदस्यको जिम्मेवारीमा रहे । जनयुद्धकालमा उनको नाम कान्छाबहादुर थियो । उनी पहिलो वार्ताकालमा माओवादीबाट वार्ता टोली सदस्य पनि थिए ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै २०६४ मा उनी अन्तरिम संसदको सदस्य तथा संसदीय दलको उपनेता बने भने २०६४ मै स्थानीय विकास मन्त्री भएर एक वर्ष काम गरे । पहिलो संविधानसभा चुनावमा गुरुङ कास्की १ बाट निर्वाचित भए । उनी २०६५ मा कानुन तथा न्यायमन्त्री भएका थिए ।

२०६६ देखि दुई वर्ष संसदीय दल प्रमुख सचेतक रहेका गुरुङ पार्टी विभाजनमा मोहन वैद्यलाई साथ दिएर हिँडे ।

वैद्य नेतृत्वको माओवादीमा रहँदा उनीहरूले २०७० को संविधानसभा निर्वाचन बहिष्कार गरे । पछि पुनः एकीकृत माओवादीमा फर्किएर २०७४ को संसदीय चुनावमा वामगठबन्धनबाट उम्मेदवार बनेका गुरुङ नेपाली कांग्रेसका नेता दीलबहादुर घर्तीलाई हराउँदै लमजुङबाट विजयी बने ।

एमाले-माओवादी एकतापश्चात नेकपाकालमा उनी संसदीय दलको प्रमुख सचेतक बने । हाल माओवादीबाट गुरुङ प्रमुख सचेतक छन् ।

माओवादीभित्र वैचारिक नेताकारुपमा लिइने गुरुङले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । माओवादीभित्रको अन्तरसंघर्षमा भने देव गुरुङ अधिकांश बेला प्रचण्डको विपक्षमा उभिए । उनले मोहन वैद्य किरणलाई साथ दिने गरेका थिए ।

कृष्णबहादुर महरा र देव गुरुङ दुवैजना वैद्यका भरोसायोग्य पात्र थिए । तर २०६९ मा पार्टी विभाजन हुँदा महराले वैद्यलाई साथ दिएनन् । माओवादीमा फर्किएपछि पनि बादल समूहका रुपमा देव गुरुङहरु थिए । तर, पछिल्लो नेकपाकालमा भने उनी प्रचण्डको पक्षमा दह्रिलोसाथ उभिए ।

संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई प्रमुख सचेतक समेत बनाउन मानेका थिएनन् । तर, प्रचण्डको कोटाबाट परेका थिए । यसपटक पनि प्रचण्डले पार्टीभित्र सन्तुलन मिलाउन अनपेक्षित रुपमा उनको नाम महासचिवमा प्रस्ताव गरे ।

Comments

2 responses to “प्रचण्डसँग ‘लभ एण्ड हेट’ को सम्बन्धले कान्छाबहादुरलाई जुरेको महासचिव पद”

  1. ksp pyl Avatar
    ksp pyl

    चरम अवसरवादी हो देव गुरूङ। प्रचण्डसँग दलाली गर्न एमसिसि, नागरिकता विधेयकको विरोध गर्यो पछि त्यहि प्रचण्डको पाउमा पर्यो। पिंध नभएको लोटा ।

  2. bharat kumar Thapa Avatar

    चरम अवसरवादी माओवादी नेता देव गुरूङ कम्युनिस्ट र राष्ट्रवादी राजनैनिकआन्दोलनमा इतिहासमा दोहोरो चरित्रका पात्र हुन आफ्नो फाइदाका लागि छिनछिनमा परिवर्तन भै रहने पुष्प कमल दाहाल र देव गुरूङ उस्तै पात्र हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *