समाजवादी केन्द्रको न्युक्लियस बन्दै, यस्तो छ कांग्रेसलाई कस्ने हिसाबकिताब

काठमाडौं । चुनावपछि पार्टी एकताको तयारीमा रहेका वाम–समाजवादी दलहरुबीच पार्टी एकता संयोजन समिति बन्ने भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टी एकता गर्ने सैद्धान्तिक सहमतिसहित एकता संयोजन समिति गठनको निर्णय गरिसकेका छन् ।

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान पनि पार्टी एकता संयोजन समितिमा समावेश हुने भएका छन् । वृहत समाजवादी केन्द्र निर्माणको अभियान चुनावपछि शुरु हुने नेताहरुले बताएका छन् ।

शुरुमा तत्कालीन नेकपाभित्रको संघर्षमा केपी ओलीविरुद्ध उभिएका पाँच सचिवालय सदस्यहरुबीच छलफल भएको थियो । त्यसपछि सो समूहमा बाबुराम भट्टराई पनि मिसिए । प्रचण्ड र माधव नेपालले समाजवादी केन्द्रमा उपेन्द्र यादवव नेतृत्वको जसपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल)लाई पनि समेट्न खोजेका थिए ।

यादवले समाजवादी केन्द्रमा जसपा सहभागी नहुने बताइसकेका छन् । नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमा छ तर समाजवादी केन्द्रको छलफलमा भने अहिलेसम्म सहभागी छैन । मोहनविक्रम सिंह सो मोर्चा वा पार्टी एकता संयोजन समितिमा सहभागी हुने सम्भावना नरहेको सो पार्टीका नेता हिमलाल पुरीले बताए ।

बाबुरामबाट प्रचण्ड ढुक्क

प्रचण्डले केही समयअघिसम्म पहिले माओवादी धाराको एकीकरण गर्ने र त्यसपछि वृहत वामपन्थी एकता थाल्ने बताएका थिए । तर तत्काल यो मोर्चामा माओवादी धाराका मोहन वैद्य र नेत्रविक्रम चन्द्र विप्लवहरु सहभागी हुने सम्भावना पनि देखिएको छैन । उनीहरु चुनाव वहिस्कारको तयारीमा छन् ।

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सकेसम्म कम्युनिस्ट शब्द नराखेर पार्टी एकता गर्न चाहेको छ । तर प्रचण्डले बाबुरामसँगको पछिल्लो भेटमा ‘नेकपा शब्द हटाएर त्यसको एकल स्वामित्व केपी ओलीलाई किन दिने’ भन्दै नेकपा समाजवादी केन्द्र वा नेकपा समाजवादी त्यस्तै कुनै नाम राख्न सकिने बताएका थिए ।

बाबुराम पनि पछिल्लो चरणमा नेकपा नामप्रति नकारात्मक छैनन् । उनले प्रचण्डसँग अब आफू पार्टी सत्ता र राज्यसत्ताको कार्यकारी पदको प्रतिस्पर्धामा नरहने भनेका छन् । त्यसैले प्रचण्ड बाबुरामसँग एकताका लागि हौसिएका हुन् । आफ्नो चुनौति नहुने अवस्थामा प्रचण्डका लागि बाबुरामजस्तो भरपर्दो साथी अरु हुन नसक्ने स्पष्ट छ ।

न्युक्लियसमा को को ?

नेकपा एकीकृत समाजवादीको बैठकले पार्टी एकता संयोजन समिति गठनको निर्णय गरिसकेको छ । समितिमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई पठाउने समझदारी समेत भइसकेको उपमहासचिव गंगालाल तुलाधरले बताए । यद्यपी माओवादीसँग एकताप्रति नेकपा एसको एउटा ठूलै पंक्ति असहमत छ ।

संयोजन समितिमा माओवादीबाट को को रहने भन्ने टुंगो लागिसकेको छैन । सम्भवतः तत्कालीन नेकपाको सचिवालयका नेताहरु संयोजन समितिमा रहनेछन् । त्यसो हुँदा माओवादीबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ,एकता अभियानबाट बामदेव गौतम रहनेछन् । त्यस्तै बाबुरामको पार्टीबाट बाबुराम नै रहने वा महिन्द्र राय यादव रहनेछन् ।

माओवादीबाट एकता संयोजन समितिमा कृष्णवहादुर महरा थपिन सक्ने नेताहरुले बताएका छन् । यो संयोजन समिति तत्कालै गठन गर्न सके गठबन्धनको सिट बाँडफाँटमा कांग्रेससँग बार्गेनिङ पावर पनि बढ्ने र सिट पनि थपिने अपेक्षा प्रचण्डको छ ।

कांग्रेस हाराहारीको हिसाबकिताब

गठबन्धनको अंग भइसकेका कारण बाबुराम र महिन्द्र यादवको सिट सुरक्षित हुनेछ र त्यसमा राजकिशोर यादवलाई पनि ल्याउन खोजिएको छ । माओवादीको चुनाव चिन्हबाट लड्ने भएकाले बाबुराम पक्षले पाउने प्रत्यक्षतर्फको सिटमात्र होइन समानुपातिकमा पनि प्रचण्ड नाफामा हुनेछन् ।

बामदेव गौतमलाई समेत गठबन्धनबाटै एक सिट दिलाउने प्रचण्डको प्रयास छ । त्यो पनि माओवादीलाई नै नाफा हुने हो । १६५ सिटमध्ये माओवादी,नेकपा एस,बाबुराम र बामदेवले समेत सिट पाउँदा कांग्रेसको हाराहारी भाग आउने नेताहरुको हिसाबकिताव छ ।

माओवादीले ४५ देखि ५० सिट,नेकपा एसले २० देखि २५ सिट,बाबुराम र बामदेवको समेत जोड्दा ७०–७५ सिटमा प्रस्तावित समाजवादी केन्द्रका उम्मेदवार हुनेछन् । कांग्रेसले पनि गठबन्धनबाट बढीमा ८०–८५ सिट पाउने हो । सिट बाँडफाँटमै कांग्रेसको हाराहारीमा पुग्ने तयारी प्रचण्डको छ ।

त्यो भनेको चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्था आउने र कांग्रेसले समाजवादी केन्द्रबिना सरकार बनाउन नसक्ने ठाउँमा पुर्याउँने हो । त्यसका लागि पनि तत्कालै समाजवादी केन्द्रको भ्रुण अर्थात पार्टी एकता संयोजन समिति गठन हुने बताइएको छ । चुनावपछि गठबन्धनबाट पहिलो चरणको प्रधानमन्त्री बन्न प्रचण्डले सबै शक्ति लगाइरहेका छन् र उनी यो मौका कुनै हालतमा गुम्न नदिन सक्रिय छन् ।

प्रचण्डले चुनावपछि दोस्रो पार्टी नहुने हो भने किन गठबन्धन गर्ने भनिरहेका छन् । त्यसको पनि गम्भीर अर्थ छ । आफ्नो साथबाट कांग्रेस पहिलो पार्टी बन्दै गर्दा कांग्रेसको साथबाट आफू दोस्रो पार्टी बन्न पाउनुपर्ने उनको भनाइ छ । आज गठबन्धनमा समेटिएका ७ वटा पार्टीमध्ये प्रचण्डसँग चारवटा छन् । राजमो,जसपा र कांग्रेस एक्ला एक्लै छन् ।

गठबन्धनको बलमा सिट बाँडफाँटमै कांग्रेसको हाराहारीमा आफू नेतृत्वको मोर्चाले पाउँदा प्रत्यक्षबाट समाजवादी केन्द्रको ५० हाराहारी सिट आयो भने चुनावपछि पार्टी एकता गर्दा दोस्रो दल बन्न सकिने आँकलन छ । किनकी गठबन्धनसँग लड्दा प्रत्यक्षमा एमालेले धेरै कम सिट जित्ने र समानुपातिक कांग्रेस बराबर आए पनि प्रत्यक्षका कारण एमालेलाई तल पार्न सकिने प्रचण्डको बुझाइ छ ।

कांग्रेसले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा थप्नुभन्दा अघि नै प्रचण्डले बाबुराम र बामदेवलाई थपेर आफू बलियो पोजिसनमा पुगिसकेका छन् । लोसपा रोक्न उपेन्द्र यादव नै लागेकाले प्रचण्ड मौन छन् । लोसपा थपिए पनि सिट कांग्रेसकै घट्ने भएकाले प्रचण्डलाई लोसपा भित्रिनु र नभित्रिनुमा खासै मतलब छैन ।

Comments

One response to “समाजवादी केन्द्रको न्युक्लियस बन्दै, यस्तो छ कांग्रेसलाई कस्ने हिसाबकिताब”

  1. ksp pyl Avatar
    ksp pyl

    समाजवादी सादी केहि बन्दैन। यो केवल काँग्रेससँग बढी भन्दा बढी सिट माग्न रचिएको नाटक हो। यस अघि एमालेसँग मिल्द्यौं भनेर सिटको लागि दलाली गर्थे। काँग्रेसले अव त्यो पत्याउँदैनन् भनेर समाजवादको नयाँ फण्डा ल्याएको हो चटकेले। विशुद्ध विदेशीको दलाली गर्न बनेको पार्टीले समाजवाद ल्याउँछ भनेर कसैले पत्याउछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *