अर्थमन्त्रालयबाट हट्यो ग्यास चुलो

काठमाडौं । आजदेखि अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको छ।

चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा अर्थमन्त्रालयबाट एलपी ग्यासको विस्थापन गरी विद्युतीय चुलो प्रयोगमा ल्याएको हो ।

आजदेखि नै अर्थ मन्त्रालयको सचिवालयहरु, महाशाखाहरु तथा चमेना गृहबाट एलपी ग्यास विस्थापन गरिएको प्रवक्ता ढुण्डी प्रसाद निरौलाले बताए ।

उनले भने,‘आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुदा नं २५३ मा सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था बमोजिम अर्थ मन्त्रालयको सचिवालयहरु, महाशाखाहरु तथा चमेना गृहमा २०७९ साउन ३० गते देखि पूर्ण रुपमा ग्याँस चुलो विस्थापन गरी  आज १ गते देखि विद्युतीय चुलो उपयोगमा ल्याइएको छ । ’

गत साउन महिनाभित्रै सिंहदरबारभित्रका सबै चमेनागृह तथा भोजनगृहहरुबाट एलपी ग्यास विस्थापन गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले सम्भव हुन सकेको थिएन ।

अधिकांश चमेनागृहले विद्युतीय चुल्होको तयारी गरेको भए पनि बिजुलीको नियमित आपूर्तिको प्रबन्ध गरिदिन आग्रह गरेका छन् । केही प्राविधिक जटिलताका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली प्रवाहमा कहिलेकाहीँ समस्या देखिने गरेको छ ।

उक्त समस्या समाधानका लागि प्राधिकरणले पहल गरिरहेको र बिना अवरोध विद्युतीय चुल्होको प्रयोग गर्न सक्ने गरी व्यवस्था हुने जनाइएको छ ।

 

Comments

One response to “अर्थमन्त्रालयबाट हट्यो ग्यास चुलो”

  1. सक्षम Avatar
    सक्षम

    ठूलै काम गरेछौ नौटंकीहरू! सिसिटिभि र आएका एजेन्ट त हटाउने अर्थ मन्त्रालय, जाबो ग्यास सिलिण्डर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *