आज गठबन्धन कार्यदलको बैठक- सिट बाँडफाँटबारे ठोस निर्णय लिइँदै

काठमाडौं । निर्वाचनको सीट बाँडफाँटका लागि गठित सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।

आज बस्ने बैठकले सिट बाँडफाँटबारे ठोस निर्णय लिन सक्ने र सकेसम्म कार्यदलले नै सबै काम टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने एजेण्डा रहेको छ ।

यसअघि सोमबार बसेको कार्यदलको बैठकलेसत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्दा २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र हालै सम्पन्न स्थानीय चुनावको मतलाई आधार बनाउने निर्णय गरेको थियो ।

गठबन्धनले सिट बाँडफाँटका लागि गृहकार्य गर्न गठन गरेको कार्यदलको बैठकपछि कार्यदल सदस्य समेत रहेका सरकरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दुवै चुनावको मतलाई आधार बनाइने बताएका थिए ।

तर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी २०७४ मा नरहेकाले उसको हकमा विशिष्ट रुपमा राखेर मापदण्ड बनाइने कार्कीको भनाइ थियाे  ।

मंसिर ४ का लागि सीट बाँडफाँट गर्दा २०७४ सालको संसदीय चुनावको मतलाई आधार मान्ने कि हालै सम्पन्न स्थानीय चुनावको नतिजालाई आधार मान्ने भन्नेमा गठबन्धन दलबीच मतान्तर देखिएको छ ।

हालैको स्थानीय तह निर्वाचनको मतलाई मुख्य आधार बनाउनुपर्ने कांग्रेसको धारणा छ भने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय चुनावको ‘डाटा’ को विश्वसनीयता प्रश्न उठाएका छन् ।

कार्यदलका सदस्य माओवादी नेता देव गुरुङले २०७४ सालमा भएको चुनावमा जुन दलले प्रत्यक्षतर्फ जति सीट जितेका छन् ती कायम राखेर एमालेले जितेका सीट बाँडफाँट हुने बताएका थिए । सदनमा उपस्थितिको आधारमा, समानुपातिक मतलगायतयलाई सहमतिको मोडालिटी बनाइने उनको भनाइ थियो ।

तर, कांग्रेसले भने स्थानीय चुनावलाई मुख्य आधार बनाउन खोजेको छ । आज यसबारे टुंगो लाग्ने बताइएपनि सम्भावना न्यून रहेको एक नेताले बताए ।

गत आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार पार्न निर्देशन दिइसकेको छ । भदौको पहिलो सातासम्ममा सीट बाँडफाँटसम्बन्धी सबै काम सक्ने भनिएपनि मापदण्डमा मतभेदका कारण भागबण्डा पेचिलो बनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *