कार्कीको इगोले न्यायपालिकामाथि बिगो- फुलकोर्ट बोलाउन न्यायाधीशहरूको दबाब

काठमाडौं । आफ्नो वैधानिक कार्यअवधि एक महिना मात्र बाँकी रहेका बेला कायम मुकायम प्रधानन्यायाधीश दीपक कार्कीले न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक दायरा खुम्च्याउने गरी व्यक्तिगत प्रतिशोधमा उत्रिएपछि सर्वोच्च अदालतमा उनी एक्लो बन्दै गएका छन् ।

असोज १६ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाने कामु प्रधानन्यायाधीश कार्की भदौ १६ देखि अदालती कारबाहीमा सहभागी हुन पाउँदैनन् । उनी यही अवधिमा चोलेन्द्र शमशेर जबरासँग इगो साँध्न न्यायपालिकाको सर्वोच्चता सिद्ध्याउन उद्यत भएको आरोप छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाएर सौदाबाजीमा प्राप्त गरेको कामु प्रधानन्यायाधीशको पदलाई सत्ता गठबन्धनको न्यायिक कमिसारको भूमिकामा सीमित गरेको भनेर आलोचित बनेका कार्कीले संवैधानिक पदलाई प्रतिशोध र व्यक्तिगत लाभमा दुरुपयोग गर्न थालेपछि न्यायाधीश तथा कर्मचारीबाटै एक्लिन थालेका छन् ।

कार्कीले सर्वोच्च अदालतको प्रशासनिक भवन निर्माणको टेण्डरसँग सम्बन्धित विषय छानबिन गर्न अख्तियारलाई पत्र लेखेपछि हिजो उनलाई हड्तालमार्फत कामु प्रधानन्यायाधीशको कुर्सीसम्म पुर्‍याउन सडकबाट सघाएका पूर्व प्रधानन्यायाधीशहरू समेत असन्तुष्ट बनेका छन् ।

सर्वोच्चका अधिकांश न्यायाधीशले उनलाई भेटेरै कामु प्रधानन्यायाधीशको सचिवालयबाट अख्तियारलाई लेखिएको पत्रबारे चासो राखेका छन् । उनीहरूले तीन सातादेखि फुलकोर्टको बैठक नराखी कामु प्रधानन्यायाधीशले सर्वोच्चको स्थापित मान्यताविपरीत गतिविधि गरेपछि आपत्ति जनाएका हुन् । अख्तियारलाई पत्राचार गर्ने बेला उनले न्यायाधीश र प्रशासनिक नेतृत्वलाई अविश्वास गरेको देखिन्छ ।

सर्वोच्चका एक जना न्यायाधीशले नेपाल प्रेससँग भने- सर्वोच्च अदालतको प्रशासनिक पत्राचार गर्ने काम मुख्य रजिष्टार र रजिष्टारको हो । प्रधान न्यायाधीशको सचिवालयबाट राज्यका अर्का निकायलाई प्रशासनिक पत्राचार गर्ने नै होइन । कि त प्रधानन्यायाधीश आफैँले लेख्नुपर्‍यो । होइन भने मुख्य रजिष्टारलाई बिदा बस्न बाध्य पारेर कामु रजिष्टारले नमानेपछि सचिवालयबाट गरिएको पत्राचार व्यक्तिगत प्रतिशोध साँध्ने नियतले भएको हो, यसले दीर्घकालमा न्यायपालिकाको स्वतन्त्रता संकुचित गर्छ ।

कामु रजिष्टारले अख्तियारलाई गरेको पत्रको खण्डन कामु प्रधानन्यायाधीशको सचिवालयबाट भएकोमा कर्मचारी प्रशासन समेत कार्कीसँग असन्तुष्ट छ । प्रशासनिक नेतृत्वबाट एक्लिँदै गएका कार्की आफ्नै सहकर्मी न्यायाधीशहरूबाट पनि एक्लिएका छन् । हाल उनको पक्षमा खुलेर लाग्नेमा प्रकाशमान सिंह राउत मात्र देखिएका छन् ।

पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले अदालत आफैँले छानबिन गर्ने क्षेत्राधिकार रहेकाले अख्तियारलाई पत्राचार गर्ने कुरा ठिक नभएको बताएकी छन् । कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा, मीनबहादुर रायमाझी लगायतका पूर्व प्रधानन्यायाधीशको बलमा दीपक कार्की कामु प्रधानन्यायाधीशको कुर्सीमा पुगेका हुन् ।

सर्वोच्चका अर्का न्यायाधीश भन्छन्- प्रशासनिक भवन ठेक्कामा अनियमितता भएको भन्ने आशंका छ भने सर्वोच्चकै न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाएर छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सकिन्छ । व्यक्तिगत इगोका लागि अदालतको अधिकार संकुचित गर्ने र स्वतन्त्र न्यायपालिकाको गरिमा सिद्ध्याउने अधिकार दीपक कार्कीलाई छैन । अर्को कुरा कामुले प्रधानन्यायाधीशलाई कारबाही गर्ने पत्र लेख्नै पाउँदैन ।

सर्वोच्चका बहुसंख्यक न्यायाधीशले कामु प्रधान न्यायाधीश कार्कीलाई भेटेर तत्काल फुलकोर्ट बोलाउन माग गरेका छन् । उनले सोमबारसम्म बैठक नबोलाए न्यायाधीशहरू आफैँले बोलाउने भएका छन् । चोलेन्द्र शमशेरले फुलकोर्ट नराखी एकलौटी गरेको आरोप बार र न्यायाधीशको आन्दोलनको बेला लागेको थियो । सोही आन्दोलनको बलमा कामुको कुर्सी पाएका कार्कीले फुलकोर्ट नबोलाई न्यायपालिका नै क्षतविक्षत बनाउने हर्कत गर्न थालेपछि न्यायाधीशहरू गम्भीर बनेका हुन् ।

सर्वोच्चकै फैसलाविपरीत कामु प्रधान न्यायाधीश

सर्वोच्च अदालतको आफ्नै नजिरले पनि दीपक कार्कीको सचिवालयबाट लेखिएको पत्र खारेज योग्य भन्छ । २०७८ फागुन १२ गते न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले जिल्ला न्यायाधीश विनोदकुमार गौतमको मुद्दामा गरेको फैसलाले न्यायाधीशमाथि सो पदमा हुनुभन्दा अघिको मुद्दामा पनि अख्तियारले अनुसन्धान गर्न नपाउने भनिएको छ ।

सो फैसलाको पूर्णपाठको एक अंशमा भनिएको छ- ‘निवेदक न्यायाधीश पदमा नियुक्त हुनु पूर्व निजामती कर्मचारीको हैसियतमा कार्यरत रहे पनि जब अनुसन्धान प्रारम्भ गरियो त्यतिखेर न्यायाधीश भइसकेको अवस्था रहेको छ । यस्तोमा संविधान र कानुनले नै भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको विषयमा कारबाही गर्ने अधिकार न्याय परिषद्लाई प्रदान गरेको छ भने निवेदकले संविधान र कानुनले गरेको व्यवस्थाको संरक्षण पाउँदैन भन्नु स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुकूल हुँदैन । कार्यपालिकी शक्तिको प्रयोग गर्ने निकायले यस्तो अधिकारको प्रयोग न्यायाधीशको विरुद्ध गर्ने र मुद्दा चलाएपछि स्वतः निलम्बित भयौ भनी पत्र लेख्ने कुरा स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुकूल हुने देखिँदैन ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियारले तत्कालीन कानून समूहका उपसचिव विनोद गौतम पनि संलग्न रहेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दर्ता हुँदा गौतम चितवन जिल्लाको न्यायाधीश थिए । उनी स्वतः निलम्बन भएको भनिएपछि त्यसका विरुद्ध अदालतमा रिट लिएर गएकोमा तीन जना न्यायाधीशको इजलासले सो फैसला गरेको थियो ।

Comments

2 responses to “कार्कीको इगोले न्यायपालिकामाथि बिगो- फुलकोर्ट बोलाउन न्यायाधीशहरूको दबाब”

  1. bharat kumar Thapa Avatar

    जे रोपो त्यही फल्ने हो हिजो चोलेन्द्रले शुशिलाको महाअभियोग असफल पारे आज कांग्रेस माओवादीले उनलाई सके अनि दिपक कार्कीलाई ल्याउन जुन बाटो प्रयोग भयो उनले पनि त्यहीँ बाटो मार्फत अरूलाई सिध्याउन प्रयास गर्ने हो शक्ति विन्यासको सिद्धान्त अनुसार ।

  2. सुदर्शन कुमार खतिवडा Avatar

    जहाँ जो जस्को कारणले अपराध भएको छ उसैको साथी, सहयोगी र समान हैसियतकाले छानबिन र कार्वाही हुन्छ भन्नु अपराधी जो होस उसलाई जोगाउनु नै हो।ससदिय छानबिन समितिले बजेट निर्माणमा अनाधिकृत ब्यक्ती घुसाएको सम्बन्धमा छानबिन गरेको परिणाम के आयो? अरु न्यायाधीश पनि छानबिनमा तानिन्छौ र न्यायको गला घोटेर थुपारेको कालो धनको कारण भविष्यमा बदनाम र जेल जान पर्ने हुन सक्छ भन्ने त्रास , भय र डर सिवाय अरु त केही होइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *