काठमाडौं । निजी कलेज तथा स्कुलले अभिभावकको ढाड सेक्ने गरी उठाउने गरेको चर्को शुल्कको विषयमा कमेडी गरेका कारण बागमती कलेजबाट निकालिएका शिक्षक तथा कलाकार दीपेन्द्र प्रसाईंले श्रम कार्यालयमा उजुरी दिएका छन् । फुलटाइमर शिक्षकका रुपमा पढाउँदै आएको सुकेधारास्थित बागमती कलेजले ‘कमेडि हब’ नामक टेलिभिजन कार्यक्रममा प्रस्तुत विषयलाई लिएर प्रसाईंलाई यो शैक्षिकसत्रबाट निरन्तरता नदिने निर्णय गरेको थियो ।
फुलटाइमर शिक्षकलाई पार्टटाइम काम गर्न आइज भनेर आफूलाई जागिरबाट निकालेको आरोप प्रसाईंको छ । प्रसाईंले ५ वर्षदेखि उक्त कलेजमा पढाउँदै आएका थिए।
उनी अकाउन्ट विषयको प्रमुखका रुपमा कार्यरत थिए । कमेडी हबमा स्कुल तथा कलेजले विद्यार्थीहरुसँग लिने चर्को शुल्कको विषयमा आफूले प्रस्तुति गरेपछि बागमती व्यवस्थापनले आफूलाई अपमानजनक तरिकाले निकालेको दाबी प्रसाईंको छ । उनले कलेजमा आफ्नो पुनर्बहाली हुनुपर्ने, सम्पूर्ण सेवा-सुविधा पाउनुपर्नेलगायत माग राखेका छन् ।
‘स्कुल तथा कलेजले शिक्षक तथा कर्मचारीलाई आफूले चाहेका बखत अपमानजनक तरिकाले निकाल्ने प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो’, नेपालप्रेससँग प्रसाईंले भने । उनी करिब डेढ दशकदेखि अध्यापन र कलाकारितामा आवद्ध छन् ।

Leave a Reply