रुपन्देही । कोरोना महामारीका कारण लुम्बिनीमा आउन रोकिएका अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षण गर्न लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ ।
लुम्बिनी विकास कोषको बुधवार बसेको परिषद् बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकहरूको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा नयाँ उभार ल्याउनका लागि मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो ।
कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नेदेखि लुम्बिनीको विकासका निम्ति विभिन्न काम गर्ने निर्णय गरेको छ ।
बैठकले बौद्ध सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा तयारी गर्ने निर्णय पनि गरेको छ ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले लुम्बिनीसँग जोडिएका क्षेत्रको विकासमा विशेष ध्यान दिने बताए ।
उनले रामग्राम र देव दहको गुरुयोजना बनाएर विकास गर्ने र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने बताए ।
कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको विकास गर्ने गरी सरकारले २०२३ देखि २०३३ लाई भ्रमण दशक तोकेर अगाडि बढ्ने तयारीमा सरकार रहेको समेत मन्त्री श्रेष्ठले बताए ।
लुम्बिनी विश्वकै पर्यटकको रोजाइमा रहेको क्षेत्र भएकाले बुद्ध सर्किटसँग जोडेर यसको विकास गर्ने गरी मन्त्रालयले काम गर्ने समेत प्रतिबद्धता जनाए ।
अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई थप व्यवस्थित रूपमा सुचारु गर्ने बताए । उनले विमानस्थलबाट लुम्बिनीमा बढी भन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको बताए ।
लुम्बिनी परिषद् बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पेश गरिएको छ । नीति कार्यक्रममा लुम्बिनीको विकासका योजनाहरू अघि सारिएको छ ।
त्यस्तै परिषद्ले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नका लागि आवश्यक रणनीति, दस्ताबेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम गठन जस्ता एजेन्डामाथि छलफल भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
श्रेष्ठ मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका हुन् । मङ्गलवार साँझ लुम्बिनी पुगेका मन्त्री श्रेष्ठले लुम्बिनीको मायादेवी मन्दिर, रामग्राम र देव दहको भ्रमण गरेका छन् ।
देव दहमा गोल्डेन टेम्पल उद्घाटन
लुम्बिनी विकास कोषले गौतमबुद्धको मावली गाउँ देव दहमा निर्माण गरिएको गोल्डेन टेम्पल र फोटो म्यूजियमको उद्घाटन गरिएको छ ।
बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले गोल्डेन टेम्पल र फोटो म्यूजियमको उद्घाटन गरेका हुन। उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बुद्धसँग सम्बन्धित क्षेत्रको विकास अबको प्रमुख प्राथमिकता रहेको बताए ।
उनले लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित क्षेत्रहरूको विकास गर्न जरुरी रहेको बताए । उद्घाटन समारोहमा देवदह नगरपालिका कार्यवाहक नगरप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), देवदह वडा न. ४ का वडाध्यक्ष दमननाथ रेग्मी लगायतले बोल्दै अब देव दहको विकासमा विशेष जोड दिने बताए ।

Leave a Reply