रुपन्देही । नवलपरासीका चिनी उद्योगहरूले समयमा विवरण नपठाउँदा उखु किसानहरूले पाउने ६ करोडभन्दा बढी अनुदानको रकम फिर्ता गएको छ ।
सरकारले आ.व. ०७८/७९ मा चिनी उद्योगहरूलाई उखु उपलब्ध गराएका किसानले पाउने अनुदानको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय परासीमा पठाएको थियो ।
चिनी उद्योगहरूले समयमा विवरण नपठाएकाले असारको अन्तिममा रकम फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)का लेखापाल हरि गौतमले बताए ।
जिल्लामा ३ ठूला चिनी उद्योग छन् । अहिले बागमती र लुम्बिनी चिनी उद्योग मात्र सञ्चालनमा छन् ।
गत वर्ष बागमतीले ५८ हजार ९ सय ४८ क्विन्टल र लुम्बिनीले १६ हजार ४ सय क्विन्टल गरी जिल्लाका उद्योगले कुल ७५ हजार ४ सय क्विन्टल चिनी उत्पादन गरेको कोलेनिकाको विवरणमा उल्लेख छ ।
सरकारले अनुदानबापत ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान रकम दिँदै आएको छ । गएको वर्ष बागमती र लुम्बिनी चिनी उद्योगले कुल ९ लाख २७ हजार क्विन्टल उखु क्रसिङ गरेका थिए । त्यसबापत अनुदानका लागि आएको ६ करोड ४८ लाख फिर्ता गएको कोलेनिकाले जनाएको छ ।
फिर्ता गएको रकम पुनः उपलब्ध गराउन कृषि मन्त्रालयले किसानको विवरण माग गरेकाले विवरण पठाउन लागिएको कोलेनिकाले जनाएको छ ।

Leave a Reply