गगन थापा भन्छन्– नेपाल मनी लन्ड्रिङको कालोसूचीमा पर्नसक्ने खतरा छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेपाल ‘फाइन्सियल एक्सन टास्ककोर्ष’सँग सम्बन्धित एसिया प्यासिफिक ग्रुप अन मनि लन्ड्रीको कालोसुचीमा पर्नसक्ने खतरा भएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘एसिया प्यासिफिक ग्रुप अन मनि लन्ड्रीको नेपाल सदस्य हो । एपिजीको परस्पर मुल्यांकन अक्टोबर, नोभेम्बरमा हुने भनिएको छ । यसको मूल्यांकन मुलतः हाम्रो कानुनी व्यवस्था, यसको कार्यान्वयन, यसको प्रभावकारिताको आधारमा गरिन्छ,’ उनले भने, ‘मनी लन्ड्रिङसम्बन्धी कानुनको पर्याप्त नबनिसकेको, बनेको कानुन राम्रोसँग कार्यान्वयन नभएको व्यापार करछली, बढ्दो व्यापार घाटा, भ्रष्टाचार, अपराधिक गतिविधि लगायतका कारणले गर्दा हाम्रो समष्टिगत स्थिति अति जोखिमपूर्ण अवस्थामा रहेको विज्ञहरूले बताइरहेका छन् ।’

विगतमा कालोसूचीमा पर्दापर्दै नेपाल बचेको भएपनि यो पटक बच्ने अवस्था नभएको भनेर विज्ञहरू त्रसित रहेको सांसद थापाले बताए ।

उनले भने, ‘कालोसूचीमा नेपाल पर्‍यो भने विप्रेषण र आयातमा निर्भर नेपाल जस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने, एलसी खोल्न नपाउने यस्तो अवस्था हामी कल्पना पनि गर्नसक्दैनौं ।’

उनले मूल्यांकनको ४० वटा सूचकांकमा नेपालको अवस्था के छ ? विज्ञहरूले आशंका गरेको जस्तो कालोसूचीमा पर्नसक्ने अवस्था बन्दै गएको हो भने, त्यसमा पर्न नदिन, त्यसबाट जोगिनका लागि सरकारले के-के गरिरहेको छ ? भन्ने विषय अबिलम्ब संसदलाई जानकारी गराउन सरकारकारसँग माग गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *