डिलिट भएको सीसीटीभी फुटेज रिकभर ! फरेन्सिक ल्याबका विज्ञसँग समितिले छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन सुरू गरेको छ । सिंहदरबारमा बिहानबाट सुरु भएको बैठकमा प्रयोगशालाको रिपोर्ट खोलेर अध्ययन गर्न थालिएको हो ।

स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालाले पठाएको रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभीबाट डिलिट भएको भिडियो पनि समावेश छ । त्यसमा १४ गते रातिको भिडिओ समावेश रहे/नरहेको चाहिँ स्पष्ट भइसकेको छैन । अर्थमन्त्रालयले आफ्नो सीसीटीभीको रेकर्डमा १३ दिनपछि स्वतः फुटेज डिलिट हुने गरेको वक्तव्य दिएको थियो । त्यसपश्चात समितिले फरेन्सिक ल्याबमा सीसीटीभीको हार्डडिस्क नै पठाएर रिकभर गर्न लगाएको थियो ।

यदि १४ गते रातिको फुटेज पनि रिकभर भएको खण्डमा त्यसले नै ‘दूधको दूध पानीको पानी’ हुन सक्छ । उक्त फुटेजले त्यस रात अनधिकृत व्यक्तिको मन्त्रालयमा प्रवेश भएको थियो वा थिएन भन्ने स्पष्ट हुनेछ ।

बैठकपछि समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताए । यसका लागि ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गर्ने उनले जानकारी दिए ।

उनले पत्रकारसँग भने, ‘फरेन्सिक ल्याबको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन सुरु गरेका छौं । यो विश्लेषणको क्रममा नै छ । प्राविधिक विषय भएकाले फरेन्सिक ल्याबका विज्ञहरुबाटै जानकारी लिनुपर्ने देखियो ।’

समितिले ल्याबका विज्ञहरुलाई बेलुका ४ बजे आमन्त्रण गरेको उनले जानकारी दिए ।

Comments

One response to “डिलिट भएको सीसीटीभी फुटेज रिकभर ! फरेन्सिक ल्याबका विज्ञसँग समितिले छलफल गर्ने”

  1. Mohan Bahadur Bhujel Avatar
    Mohan Bahadur Bhujel

    Cctv footage important होइन अपराध लाई प्रमाणित garna सहायक हुन्छ। मुख्य कुरा bhaniyeko अमुक byapari wa byabasaya wa उद्योग लाई फाइदा hune गरि rajaswa मारेर budget banayeko छ कि छैन, त्यो herne हो, अपराध भएका सबै ठाउँमा Cctv हुँदैन र यसले मात्र प्रमाणित हुँदैन पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *