काठमाडौं । वीरगञ्जमा गत साता सम्पन्न जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठकमा निवर्तमान मन्त्रीसमेत रहेकी संस्थापक नेता रेणकुमारी यादवले उपेन्द्र यादवमाथि मधेसीको भोट बेचेर आफूखुसी पद बाँड्दै हिँडेको भन्दै आलोचना गरिन् । रेणुले जे बोलिन् आमरूपमा जसपाका ९५ प्रशित नेता कार्यकर्ताको भावना बोलेकी थिइन् किनकी जसपाले नामबाट मधेस हटाए पनि यो मधेस केन्द्रित पार्टी नै हो ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जसपाले जितेका ३० वटा पालिकामध्ये ओखलढुंगाको खिजिदेम्बालाई अपवाद मान्ने हो भने अन्य सबै स्थानीय तह मधेसमै जितेको छ । खिजिदेम्बाको अध्यक्षमा जसपाका गम्बु शेर्पाको जित पार्टी संगठनले नभएर उनको व्यक्तिगत प्रभाव थियो ।
जसपाका तत्कालीन मन्त्रीहरू सबैले आ-आफ्नो जिल्ला र पालिकामा राम्रै नतिजा निकाल्दा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले आफ्नो जिल्लामा कति जनप्रतिनिधि जुटाए ? यसमा जानुभन्दा पहिले वीरगञ्ज बैठकमा रेणु यादवले के भनेकी थिइन् भन्ने बुझौं ।
रेणुको भनाइ यस्तो थियो
तपाईँले सरकारबाट मन्त्री फिर्ता बोलाउँदा तीनजनालाई मात्र किन ? चारैजनालाई किन फिर्ता बोलाउनु भएन ? कहिले बाबुरामको मान्छे मन्त्री र राजदूत बन्छन्, कहिले अशोक राईका मान्छे मन्त्री र राजदूत बन्छन् तर के मधेसीले यहाँ भोटमात्र दिन आएको हो त ? राजेन्द्र श्रेष्ठको वुद्धि विवेकमाथि कुनै प्रश्न उठाउदिनँ, उहाँ निकै वुद्धिमान हुनुहुन्छ । संघीयतलाई बचाउनु थियो, त्यही भएर उहाँलाई मन्त्रीबाट फिर्ता नबोलाएको अध्यक्षजीले प्रतिकृया दिनुभएको थियो । मलाई खुसी लाग्यो, कमसे कम एकजना विद्वान त हाम्रो पार्टीमा छन् । उहाँले संघीयता बचाउन बहस गर्नुहुन्छ, हामी मधेसी सबै थपडी बजाएर बस्छौं ।
तपाईँ (उपेन्द्र यादव)ले आफूलाई लाई के सम्झनु भएको छ ? मधेसमा विभेदको पाठ पढाएर मधेसलाई बलिको बोका कहिलेसम्म बनाउनु हुन्छ ? कतिपयलाई लागेको होला, रेणु यादव मन्त्रीबाट हटेको कारण बौखलाहटमा यस्तो बोलिरहेकी छ तर होइन, म तीन पटक मन्त्री भइसकेको छु । यही पार्टीबाट दुईपटक मन्त्री बनेको छु । कसैको दाया, मायाले होइन, आफ्नो बलबुताले बनेको हुँ । पार्टीले मलाई मन्त्री बनाएकोमा म पार्टीप्रति अभारी छु । विनाजानकारी मन्त्री फिर्ता बोलाउनु हुन्छ, के मधेसीलाई नालायक बनाउनका लागि ६ महिनाका लागि मन्त्री बनाउनु भएको थियो ? के तपाईँको नजरमा मधेसी नालायक हुन् ? तपाईाले चारैजनालाई मन्त्रीबाट किन फिर्ता बोलाउनु भएन ? त्यसको जवाफ तपाईँले दिनुपर्छ अध्यक्षज्यू ।
जसपा अध्यक्ष यादवले सरकारमा सहभागी चार मन्त्रीमध्ये काठमाडौंका रैथाने राजेन्द्र श्रेष्ठबाहेक मधेसका रैथाने रेणु यादव, रामसहाय प्रसाद यादव र महिन्द्रराय यादवलाई फिर्ता बोलाएका थिए । राजेन्द्र श्रेष्ठलाई के कारणले मन्त्रीबाट फिर्ता बोलाइएन भन्ने प्रश्न रेणुबाहेक अरु नेताले पनि गरेका छन् ।
ती नेताहरूले उपेन्द्रलाई प्रश्न गरे- राजेन्द्र श्रेष्ठ जसपाको भोट बैंक हो कि ? उहाँलाई हटाउँदै जसपा फुट्ने र पार्टीलाई ठूलो नोक्सानी हुने हो कि ? उहाँ काठमाडौं जिल्लाको नेता र काठमाडौं १० वटा क्षेत्र भएकाले लाखौं जनमत प्रभावित हुने भएर हो कि ? आखिर उहाँको शक्तिको स्रोत के हो ?
के राजेन्द्र श्रेष्ठका कारण काठमाडौंमा जसपाको जनमत बलियो बनेको छ त ? पछिल्लो स्थानीय तह निर्वाचनको परिणाम हेर्दा ठीक उल्टो दयनीय देखिन्छ । जसपाले काठमाडौंका ११ स्थानीय तहमा एउटा सदस्य पनि जित्न सकेको छैन । महानगरपालिकासहित सबै पालिकामा जसपाका उम्मेदवारले पाएको मत जोड्दा मधेसका कुनै एउटा पालिकाको वडाको जति पनि छैन ।
काठमाडौं महानगरपालिका जुन मन्त्री श्रेष्ठसमेत मतदाता रहेको स्थानीय तह हो, यहाँ जसपाले मेयर र उपमेयरमा गठबन्धनलाई समर्थन गरेको थियो । तर, वडा तहमा गठबन्धन भएको थिएन । जसपाले ३२ वडामध्ये ८ वटा वडामा मात्र उम्मेवार उठाउन सकेको थियो । सबै वडाध्यक्षले ल्याएको मत जम्मा ६६५ हो ।
तीमध्ये सबैभन्दा भन्दा वडा नम्बर ८ मा ३१७ मत प्राप्त गरेको छ भने वडा नम्बर १८ मा १०४ मत पाएको छ । वडा नम्बर २ मा १८,वडा नम्बर ५ मा १३,वडा नम्बर ४ मा २०, वडा नम्बर १४ मा ६९,वडा नम्बर १५ मा ९७ र ३१ मा २७ मत पाएको निर्वाचन आयोगको अभिलेखमा छ ।
अन्य नगरपालिकामा पनि जसपाका मेयरले पाएको मत २ सय कटेको छैन । यसपटकको स्थानीय तह निर्वाचनमा जसपाका शक्तिशाली मन्त्री राजेन्द्र श्रेष्ठको गृहजिल्ला काठमाडौंमा जसपाका उम्मेदवारले पाएको जम्मा मत ११५६ रहेको छ । जबकी यति मत मधेस प्रदेशका पालिकामा जसपाले वडामै ल्याएको छ ।
राजेन्द्र श्रेष्ठ मन्त्रीमा मात्र भाग्यमानी होइनन्, समानुपातिकबाट सांसद खाने पनि भाग्यमानी नेता हुन् । प्रतिनिधिसभा निर्वाचन २०७४ मा जसपाले काठमाडौंका १० वटा क्षेत्रमा उम्मेदवार उठाए पनि कुनै क्षेत्रमा जमानत जोगाउन सकेको थिएन ।
कम्तीमा ९३ देखि बढीमा १७८१ मतसम्म जसपाका उम्मेदवारले पाएका थिए । त्यसबेला पार्टीको नाम संघीय समाजवादी फोरम थियो । चलाख नेता श्रेष्ठ आफू भने प्रत्यक्ष उम्मेदवार नबनी समानुपातिक लडेका थिए । काठमाडौं जिल्लाभरिबाट ससपाले समानुपातिकमा ३७४१ मत पायो ।
सोही चुनावमा पार्टीले समानुपातिकतर्फ सबैभन्दा बढी मत पर्साबाट ५३ हजार पाएको थियो भने सिरहाबाट करिब ४८ हजार, महोत्तरीबाट २९ हजार, बाराबाट ४३ हजार र धनुषाबाट ५१ हजार मत समानुपातिकतर्फ पाएको थियो ।
जुन जिल्लाको मतबाट जसपाले थ्रेसहोल्ड कटाएर समानुपातिक सांसदसहित राष्ट्रिय पार्टीको मान्यता पायो ती जिल्लाबाट भन्दा त्यसबेला पनि पैसामा सांसद पद बेचेको आरोप लागेको थियो । ३७ मत पाउने जिल्लाबाट राजेन्द्र श्रेष्ठ प्रभावशाली नेता,सांसद र मन्त्री बन्ने तर ५१ हजार,४७ हजार मत ल्याउने जिल्लाले मन्त्री समेत नपाउँने बिडम्बना रहेको भन्दै नेताहरू आक्रोशित छन् ।
पार्टीलाई मत मधेसले दिने तर पद राजेन्द्र श्रेष्ठहरूले पाउनु भनेको मधेसको बलिदानीबाट प्राप्त उपलब्धीको उपयोग गर्नेबेरा तरमारा प्रवेश गरेको रूपमा आफूहरूले लिएको बिरगन्ज बैठकका सहभागीहरूले बताएका छन् ।

Leave a Reply