काठमाडौं । कोरियामा नेपाली पर्यटनको प्रवर्द्धन गर्ने मुख्य लक्ष्यसहित नेपाल पर्यटन बोर्ड र कोरिया अल्पाइन महासंगबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपाने र कोरिया अल्पाइन महासंघका अध्यक्ष डा. सुन जङ हुओले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी तथा कार्यकारी समिति सदस्यद्वय मदन आचार्य र नग्वा निग्मा शेर्पाको समेतको उपस्थिति थियो ।
कोरियाको ‘स्पोर्टस टुरिजम’ क्षेत्रमा उल्लेखनीय टेवा पुर्याउँदै आएको अल्पाइन महासंघसँगको सम्झौतापछि नेपालको खेलकुद तथा साहसिक पर्यटनको विकासमा विशेष सहकार्य गरिने जनाइएको छ ।

अल्पाइन महासंघका अध्यक्ष हुओले नेपालमा ‘एडभेन्चर’ र स्पोर्टस पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै आगामी दिनहरुमा यस क्षेत्रमा लागानी गर्न तथा कोरियामा यसको सम्भावनाको बारे प्रचार गर्न आफूहरु इच्छुक रहेको जानकारी दिए ।
यसैबीच अल्पाइन महासंघका पदाधिकारीहरुले कोरियाका कीर्तिमानी पर्वतारोही यङ-सियोकको सम्झनामा निर्माण गरिएको संग्रहालयको समेत भ्रमण गरेका छन् । ८ हजार मिटरमाथिका १४ वटा हिमालको आरोहण गरिसकेका सियोकको अन्नपूर्ण हिमाल आरोहणको क्रममा मृत्यु भएको थियो ।
अन्नपूर्ण हिमाल जस्तै देखिने गरी डिजाइन गरिएको उक्त संग्रहालयमा नेपालको पर्यटन क्षेत्रलाई टेवा पुग्ने किसिमका सामग्री प्रदर्शन गरिएका छन् ।

Leave a Reply