विवेकशील साझा कर्णालीका संस्थापक संयाेजकसहितका नेता कार्यकर्ता एमाले प्रवेश गर्दै

सुर्खेत ।विवेकशील साझा पार्टीका कर्णाली प्रदेशका संस्थापक संयोजक गेहेन्द्र दाहालसहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने भएका छन् ।

नेकपा एमाले प्रदेश कमिटि र जिल्ला कमिटिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आज उनीहरुलाई एमाले महासचिव शंकर पोखरेल, एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल लगायतले पार्टीमा स्वागत गर्न लागेको हो ।

‘विवेकशील साझाले राजतन्त्रको वकालत गरेको छ । देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि प्राप्त उपलब्धिको रक्षा गर्न विवेकशीलले नसक्ने देखियो ।पार्टी अध्यक्षले राजसंस्था व्यूँताउने निर्णय गर्दा हामीले बदनाम भएको महसुस गरेका छौं ।’ २०७४ सालमा स्वतन्त्रमा वीरेन्द्रनगर नगरप्रमुखमा उम्मेदवारी समेत दिएका संयोजक दाहालले भने, ‘वितेको पाँच वर्ष कर्णालीका हजारौं साथीहरु पार्टी प्रति सर्मपित भएर लागेका थिए । कर्णाली प्रदेशका साथीहरुको राजनीतिक पुंजिलाई सुरक्षित अवतरण गर्न पार्टी समायोजनाका रुपमा हामी आज एमालेमा समाहित हुँदैछौं ।’

उनका अनुसार कर्णालीका आठ जिल्लाका प्रदेश कमिटी सदस्यहरुसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने तयारी भएको छ । ‘कति जना जान्छन भन्ने कुरा अहिले नतोकौं ।’ उनले भने, ‘यति बुझ्नुस आठ जिल्लाका उल्लेख्य साथीहरु एमालेमा आज प्रवेश गर्नुहुन्छ ।’

उनले स्थायीत्व, लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ एमाले बाहेकको अन्य शक्ति नेपालमा नभएको पुष्टि भएको बताए ।
यो वर्तमान गठबन्धन सरकारले नागरिकता विधेयक देखि एमसिसि अनुमोदनसम्म गरेको बताउँदै देशका लागि एमाले नै एकमात्र विकल्प भएको महसुस गर्दै एमालेमा होमिन लागेको उनको प्रष्टोक्ति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *