राप्ती गाउँपालिकामा जंकफूड र प्लाष्टिकका माला तथा खादा प्रतिबन्ध

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा रहेको दाङको राप्ती गाउँपालिकाले जंकफूड र प्लाष्टिकका माला तथा खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

सम्मानका नाममा जताततै स्वागत सत्कार बढी तामझामयुक्त भइरहेको समयमा गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरी प्लाष्टिक माला र खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

गाउँपालिकामा आयोजना हुने कुनै पनि सार्वजनिक कार्यक्रममा जंकफूड तथा कोल्ड ड्रिंक्स आदि प्रयोग गर्न नपाइने निर्णय गरेको छ। त्यस्ता जंकफूडको सट्टा स्थानीय रूपमा उत्पादिन प्राकृतिक तथा दुग्धजन्य पदार्थको प्रयोगको प्रबन्ध गर्नुपर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ।

असार १९ गतेको बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको थियो। गाउँपालिकाले भने असार ३० गते आफ्नो आधिकारिक फेसबुक फेजमार्फत् पनि सार्वजनिक गरेको छ।

गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंकिङ तथा वित्तीय संस्था लगायत पालिकाभित्र सार्वजनिक कार्यक्रम गर्न चाहने संघ संस्थाले रबरजन्य प्लाष्टिकका फूल माला, खादा आदि प्रयोग गर्न नपाउने निर्णय भएको बताए।

त्यस्ता कार्यक्रम गर्दा कोल्ड ड्रिंक्सका नाममा फ्रुटी, कोकोकोला, फेन्टा जस्ता पिय पदार्थसमेत प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको रिजालले जानकारी दिए।

‘हामी निजी संघ संस्थाहरूलाई पनि पत्राचार गर्नेछौं,’ रिजालले भने, ‘स्थानीय वस्तुको महत्व घटाउने र शरीर तथा स्वास्थ्यलाई पनि हित नगर्ने वस्तु प्रयोग नगर्ने भनेर बुझाउन प्रयास गर्नेछौं।’

प्लाष्टिकजन्य फूल, माला र खादाको सट्टा गाउँपालिकाले सुतिको कपडाबाट निर्मित सेतो गम्छा प्रयोगमा ल्याउन प्रस्ताव गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए।

स्थानीय स्तरमा पुष्पखेतीको महत्व उजागर गर्न र बाह्य आयातलाई निरूत्साहित गर्न पालिकाले स्थानीय स्तरमा उत्पादन भएका फूलका माला, पुष्प गच्छा प्रयोग गर्ने रणनीति लिएको उनले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *