बेरुजूधारी व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्थाका लागि सिफारिसको तयारी

काठमाडौं । महालेखा परीक्षककको कार्यालयले बेरुजू कायम गर्नेलाई चुनावमा उम्मेदवारका लागि अयोग्य ठहर्ने गरी निर्वाचन आयोगलाई सिफारिस गर्ने भएको छ ।

बुधबार मात्र महालेखापरीक्षकको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिवेदनमा बेरुजू देखाउने तर कार्यान्वयनमा जोड नदिएकोबारे प्रश्नमा महालेखापरीक्षक टंकमणि शर्माले आगामी संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा उम्मेदवार नबनाउन सिफारिस गर्न लागिएको नेपाल प्रेससँग बताए ।

उनले भने, ‘भर्खरै मात्र स्थानीय तहको निर्वाचनमा पनि बेरुजू रहेका व्यक्तिलाई उम्मेदवार नबनाउने निर्णय निर्वाचन आयोगले गरेको थियो । त्यसैगरी अब हुने प्रदेश र संघीय निर्वाचनमा पनि उम्मेदवार वन्ने व्यक्तिको हकमा कुनै पनि बेरुजू देखिएमा त्यस्ता व्यक्तिलाई उम्मेदवार नबनाउनका लागि हामी निर्वाचन आयोगलाई सिफारिस गर्दैछौं ।’

यस्तै महालेखापरीक्षकको कार्यालयले स्थानीय तहदेखि संघीय मन्त्रालयसम्म विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका पदाधिकारी तथा कर्मचारीको हकमा पनि कार्यालय वा व्यक्तिको नाममा बेरुजू देखिएमा सरुवा, विभागीय जिम्मेवारी तथा बढुवा र कार्यसम्पादन मूल्यांकनमा पनि पुनर्विचारका लागि सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ ।

‘विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका कर्मचारीले पनि अर्को ठाउँमा जिम्मेवारी दिँदा वा सरुवा गर्दा महालेखापरीक्षकको प्रतिवेदन अनुसार बेरुजू रहे-नरहेको हेरविचार गर्नुपर्छ र कार्यसम्पादन तथा मूल्यांकन र बढुवामा पनि बेरुजूको आधारमा मूल्यांकन हुनुपर्छ’, शर्माले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *