काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई १ सय ४४ रनमा समेटेको छ।
टस जितेर पहिला बलिङ रोजेको नेपालविरुद्ध स्कटल्यान्डले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ४४ रन जोडेको हो। स्कटल्यान्डलाई सस्तोमा समेट्न आदिल आलम र सोमपाल कामीले तीन तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी र करन केसीले एक एक विकेट हात पारे।
४ रन जोड्दा पहिलो विकेट गुमाएको स्कटल्यान्ड त्यसपछि ३३-५ को कमजोर अवस्थामा पुगेको थियो। स्कटल्यान्डले सातौँ विकेटका लागि १९ , आठौँ विकेटका लागि १४ , नवौँ विकेटका लागि १६ र १० औँ विकेटका लागि ४९ रनको साझेदारी गरेको थियो। घरेलु टोलीका तल्लोक्रमका गाभिन मैनले सर्वाधिक ६४ रन जोडे। उनी नवौँ नम्बरमा ब्याटिङ गर्न आएका थिए। मध्यक्रमका मार्क वाटले सर्वाधिक १७ रन जोडे।
अनुभवी कायल कोएट्जर ४, विकेटकिपर मार्क क्रस २, कप्तान रिची बेरिङ्टन ३ र जर्ज मुन्सी ४ रन जोडेर आउट भए। स्कटल्यान्डको शीर्ष ६ ब्याट्सम्यानमध्ये क्यालम म्याकलियोडले मात्र १३ रनसहित दोहोरो अंकमा रन जोड्न सके।
नेपालले पहिलो खेलमा नामिबियासँग ४० रनको हार ब्यहोरेको थियो भने स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको थियो। अंक तालिकामा स्कटल्यान्डको २१ खेलबाट ३० र नेपालको १७ खेलबाट १५ अंक रहेको छ। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हालसम्म स्कटल्यान्डलाई हराउन सकेको छैन।

Leave a Reply