नागरिकता विधेयकको सहमतिका लागि गृहमन्त्रीको दौडधुप, आज प्रचण्ड भेटे

काठमाडौं । नेपाल सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भेट भएको हो । छलफल सकारात्मक भएको खाणले जानकारी दिए । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।

सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद सचिवालयमा पेस गरेको छ । पेस भएको विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री खाणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

हिजो साँझ मात्रै गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *