बर्खायामसँगै नाइरोबी फ्लाइ किराको सङ्क्रमण

काठमाडौं । बर्खायामसँगै नाइरोबी फ्लाइ किरोको सङ्क्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् ।

प्रायः जसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको किरा देखिएको महाशाखाको किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए ।

काठमाडौंको सिभिल अस्पतालमा उक्त किराका कारण सङ्क्रमित भएका दुई जनाको उपचार गरिएको छ । उहाँका अनुसार गत वर्ष पनि उक्त किराको सङ्क्रमणका कारण तीन÷चार बिरामी भेटिएका थिए ।

‘अहिले पनि नाइरोबी फ्लाई किरा देखिन थालेको छ । किरा बाहिरी मुलुकबाट नआई यही उत्पादन हुने गर्दछ’, दाहालले भने, ‘किराले लामखुट्टे जस्तो सङ्क्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सार्दैन । जनस्वास्थ्यमा ठूलो रुपमा यो किराले सङ्क्रमण ल्याउँदैन ।’

मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कन्छ । उक्त रसमा रहेको पेडेरिन तत्त्व एसिडले छालामा सङ्क्रमण गराउँदछ । उनी किरालाई शरीरबाट सजिलै फाल्न सक्ने हो भने सङ्क्रमण नहुने बताउँछन् । ‘किरालाई सजिलैसँग शरीरबाट फाल्न सक्यो भने सङ्क्रमण हुँदैन’, दाहालले भने, ‘किरा नरम भएकाले शरीरबाट फाल्दा थिचिने गर्दछ र यसरी थिचिँदा किराबाट एसिड निस्कन्छ । जुन एसिड शरीरलाई हानि गर्दछ ।’

एसिड छालामा लागेपछि २४ घण्टा भित्रमा छाला रातो हुने, बिबिरा आउने, जनै खटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने महाशाखाको किटजन्य शाखा प्रमुख डा दाहालले जानकारी दिए ।

‘लक्षण देखिएपछि धेरै मानिस आफैँ सन्चो भएर जान्छन्’, उनले भने, ‘सन्चो नभएका नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्दछ ।’

प्रायः जसो सडे गलेका खानेकुरा, मरेको जनावर र फोहर मैला भएको ठाउँमा उक्त किरा देखिने र प्रजनन गराउने गर्दछ । किराबाट हुने सङ्क्रमणबाट पेडेरस डर्माटिटिइज जस्तो रोग लाग्ने गरेको उनी बताउँछन् ।

किराको सङ्क्रमणबाट देखिने रोगबारे छाला रोगका विशेषज्ञ र किरा विज्ञसँग छलफल गर्ने तयारी भइरहेको दाहालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *