कर्णालीमा सरकार र एमालेबीच भयो सहमति, मुख्यमन्त्री रोजगारका योजना फिर्ता

सुर्खेत । असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक आजबाट सुचारु हुने भएको छ । आज कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले विभिन्न चारबुँदे सहमति गर्दै प्रदेशसभा सुचारु गर्ने सहमति गरेको हो ।

यो सहमतिसँगै आजबाट कर्णाली प्रदेश सभामा आर्थिक वर्ष २०७९/८० को बजेटमाथि क्रमशः छलफल हुने बाटो खुलेको छ । सहमतिमा मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्वन्धमा प्रस्तावित योजनाहरू एकमुष्टरूपमा फिर्ता लिने र विनियोजन भएको रकम यथावत राखी साउन मसान्तसम्म कार्यविधिसम्मत् योजनाहरू छनौट गरिसक्नु पर्ने निर्णय भएको छ ।

यस्तै, विनियोजन कितावमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजनाहरूको नाम हटाउने सहमतिमा उल्लेख छ । सशर्त योजनामा सुदुरपश्चिम प्रदेशका नौओटा आयोजनाको एक करोड तीस लाख रुपैयाँको बजेट रातो किताबमा समेटिएको थियो ।

१५ लाखभन्दा कम रकम विनियोजन गरिएका योजनाहरूका हकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साना सिंचाईबाहेक अन्य नयाँ योजनाहरू कार्यान्वयन नगर्ने निर्णय भएको छ । यो सहमति कार्यान्वयन भएको खण्डमा कर्णालीमा करिब एक अर्ब बराबरको योजना कार्यान्वयनमा रोक लाग्ने छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रमको सम्वन्धमा रिक्त रहेका निर्वाचन क्षेत्रहरूमा सभामा प्रतिनिधित्व गर्ने दलहरूको सहमतिमा योजनाहरू छनौट गर्ने गरी कार्यविधि संशोधन गर्ने निर्णय भएको सभामुख शाहीले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *