काठमाडौं । नेपाली कांग्रेसका प्रमुख भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले अध्यक्ष पाएको चार महिना पुग्न लाग्दासम्म थप पदाधिकारी र सदस्य पाएका छैनन् ।
पार्टी सभापति शेरबहादुर देउवाले चैतको दोस्रो साता नेविसंघका दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङलाई अध्यक्ष मनोनीत गरेका थिए । तर, यी दुवै संस्थामा अहिले अध्यक्ष मात्र छन् ।
यी दुवै संस्था र थप अन्य भ्रातृसंस्थाको पूर्णताका लागि केहीसमय अगाडि पार्टीका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेका थिए । त्यसको झण्डै दुई हप्ता बित्नैलाग्दा पनि दुवै संस्थाले पूर्णताः पाउने सुरसार छैन ।
यस्तोमा तरुण दलका अध्यक्ष विद्वान गुरूङले भने आफ्नो कार्यसमितिको पूर्णताका लागि सक्रियता बढाएका छन् । उनले पार्टीका शीर्ष नेताहरूलाई भेटेर संगठन विस्तार र कार्यसमिति पूर्णताका लागि वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

अध्यक्ष गुरुङले पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालासँग छुट्टाछुट्टै भेट गरेका छन् । भेटमा तरुण दलको संगठन विस्तारका विषयमा दुवै नेताले चासो राखेका थिए । यस्तै दुवै नेताले संगठनको हरेक कार्यमा आफ्नो साथ, सुझाव र पूर्णसहयोग रहने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष गुरुङले बताए ।
‘उहाँहरूले सबैजनासँग सरसल्लाह गरी अघि बढ्न सुझाव दिनुभएको छ । मैले उहाँहरूको अमुल्य सुझाव सदैव आवश्यक रहने कुरा भनेको छु’ अध्यक्ष गुरुङले भने ।
अध्यक्ष गुरुङले नजिकिँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसलाई बहुमतले जिताउन तरुण दल लाग्ने र उक्त कार्यको सबै नेताहरूबाट पूर्ण सहयोगको अपेक्षा रहेको धारणा राखेका थिए ।

Leave a Reply