चौतर्फी दबाबमा अर्थमन्त्रीः आज देलान् राजीनामा ?

काठमाडौं । बजेट निर्माणमा भएको अनियमितता प्रकरणलाई यत्तिकै सामसुम पार्ने प्रयास असफल भएपछि अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामाको चर्को दबाब परेको छ । उनले आफूमाथि उठेका प्रश्नहरुको आज संसदमा जवाफ दिने तयारी गरेका छन् ।

आजै बिहान माओवादीका शीर्ष नेता सम्मिलित बैठक अर्थमन्त्रीकै विषयमा केन्द्रित थियो । उक्त बैठकमा अर्थमन्त्रीले राजीनामा गर्ने संकेत गरेनन् । बैठकमा कुनै गल्ती नै नगरेकाले अर्थमन्त्रीले राजीनामा दिइरहनुनपर्ने निष्कर्ष निकालिएको एक नेताले बताए । प्रतिपक्षी एमालेसँग छलफल गरेर संसदीय छानबिन समितिसम्म निर्माण गर्ने आफूहरूको बटमलाइन रहेको प्रचण्डले बताएका थिए ।

तर, छानबिन समिति बनाएर मात्रै अर्थमन्त्री जोगिनेवाला छैनन् । यस्तो समितिलाई काम गर्ने वातावरण बनाउनका लागि पहिलो सर्त भनेकै अर्थमन्त्रीलाई पदबाट निलम्बन हो । शर्मालाई अर्थमन्त्रीको कुर्सीमै राखेर छानबिनका लागि प्रतिपक्षी दल एमाले तयार हुने देखिँदैन ।

अर्कोतर्फ अर्थसचिव मधुकुमार मरासिनीले बिदामा बसेर अर्थमन्त्रीमाथि अर्को दबाब थपेका छन् । यसले अर्थमन्त्रीका क्रियाकलापसँग अर्थसचिव नै असन्तुष्ट रहेको सन्देश गएको छ । अर्थसचिवले व्यक्तिगत समस्या देखाएर बिदा लिएको भए पनि ‘स्याल कराउने र कुखुरा हराउने’ जस्तो संयोग मात्र यो होइन ।

बालुवाटारको दबाब

चर्को जनदबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाव दिएका छन् । बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिएर वातावरणलाई सहज बनाउन सुझाव दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल, आफ्नै पार्टीका शीर्ष नेताहरू र नागरिक समाजबाट चर्को दबाब बढ्दै गएपछि निकासको बिकल्प अर्थमन्त्रीको बहिर्गमन नै रहेको देउवाको निष्कर्ष रहेको स्रोतले बतायो ।

यसैबीच अर्थमन्त्री शर्माले राजीनामा दिने सम्भावना रहेको पनि स्रोतले बताएको छ ।

‘आज प्रतिनिधिसभामा सम्बोधन गरेर छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामाको घोषणा गर्नसक्ने सम्भावना पनि छ,’ स्रोतले भन्यो ।

अहिले बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले सम्बोधन गर्ने तयारी गरेका थिए । अर्थमन्त्री संसद भवनभित्र प्रवेश पनि गरिसकेका थिए । तर, बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

Comments

One response to “चौतर्फी दबाबमा अर्थमन्त्रीः आज देलान् राजीनामा ?”

  1. Robin Avatar
    Robin

    Politicians and bureaucrats are the most corrupt in Nepal.Both must be hanged till death for corruption.

Leave a Reply

Your email address will not be published. Required fields are marked *