काठमाडौं । प्रमुख विपक्षी दलका नेताले बोल्ने जानकारी पुगेपछि आइतबारको प्रतिनिधिसभा बैठक शुरु नहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा संसद् भवनमा पुगेका थिए ।
बैठक शुरु गर्दै सभामुख अग्नि प्रसाद सापकोटाले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई बोल्न समय दिए । ओलीले आफ्नो सम्बोधनको सुरुमै आफू प्रधानमन्त्री हुँदा कांग्रेसका एक जना सांसदले ‘इनफ इज इनफ’ भनेर संसद् र सडक उरालेको स्मरण गरे ।
तर ती सांसद आजको बैठकमा उपस्थित नभएको भन्दै ओलीले देश ठिकठाक चलिरहेको बेला इनफ इज भनिएको भन्दै वास्तवमै इनफ इज इनफको अवस्था अहिले आएको बताए ।
ओलीले इनफ इज इनफ भनेर सम्झिएका पात्र थिए कांग्रेस सांसद प्रदिप गिरी । बौद्धिक नेता गिरीले बेलायतका तत्कालीन प्रधानमन्त्री चर्चिलको सन्दर्भ ल्याउँदैं इनफ इज इनफ भनेका थिए भने उनलाई गगन थापाले साथ दिएका थिए ।
विरामी परेका कारण प्रदिप गिरी सदनमा लामो समयदेखि अनुपस्थित छन् । गगन थापा भने ओलीको भाषणा सुन्न अन्तिमसम्म बसेका थिए । । ओलीले सम्बोधन शुरु गर्दा अनुपस्थित रहेका थापा बीचमा बैठकमा प्रवेश गरेका थिए । डेढ घण्टापछि पनि ओलीले आफ्नो सम्बोधन अन्त गर्ने बेला फेरि इनफ इज इनफ फर्काए ।
ओलीले प्रधानमन्त्रीलाई भने- अब यहाँकै पार्टीका एक जना माननीयले भन्नुभएको कुरा सभामुखमार्फत प्रधामन्त्रीजयूलाई भन्छु, उहाँले त्यस बेला ठिकठाक इनफ इज इनफ भन्नुभएको थियो । इनफ इज इनफ भनेको त्यस बेला होइन यो चाहिँ हो । यो सहनीय छैन । इनफ इज इनफ ।
ओलीले यसो भन्दा गगन थापा रोष्टमतर्फ चनाखो भएर हेरिरहेका थिए ।

Leave a Reply