भारतीय कमेडियन कपिल शर्मा विरुद्ध न्यूयोर्क कोर्टमा उजुरी

नयाँ दिल्ली । भारतका चर्चित कमेडियन कपिल शर्मा विरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ ।

अमेरिकाका लोकप्रिय शो प्रोमोटर अमित जेटलीले २०१५ मा ६ वटा शो गर्नका लागि भएको सम्झौता अनुसार काम नभएको भन्दै उजुरी गरेका हुन् ।

सम्झौताअनुसार कपिलले ६ मध्ये एक शोको कुनै प्रस्तुति नदिएको र कुनै रेस्पोन्स पनि नगरेको भन्दै उनले उजुरी दिएका हुन् ।

अमित जेटलीले सामाजिक सञ्जालमार्फत पोस्ट सेयर गर्दै सो जानकारी दिएका हुन् ।

उनले पोस्टको क्याप्सनमा लेखेका छन्, ‘साई युएसए इंकले कपिल शर्मा विरुद्ध २०१५ मा अनुबन्ध उल्लंघन गरेकोमा मुद्दा दायर गरेको छ।’

मिडिया रिपोर्टका अनुसार जेटलीले कपिलले आफूलाई भएको क्षतिको क्षतिपूर्ति दिने वाचा गरेको बताएका छन् ।

उनले भने, ‘कपिलले प्रदर्शन गरेनन् र हामीले उनलाई अदालतमा मुद्दा अघि धेरै पटक सम्पर्क गर्ने प्रयास गरेका थियौँ, तर कुनै प्रतिक्रिया आएन ।’

कपिल हाल द कपिल शर्मा शोको लाइभ प्रदर्शनको लागि आफ्नो टोलीसँग उत्तर अमेरिकामा छन् ।

कपिलले सुमोना चक्रवर्ती, राजीव ठाकुर, किकु शारदा, चन्दन प्रभाकर र कृष्णा अभिषेकसँग भ्यानकुभर र टोरन्टोमा प्रदर्शन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *