सुर्खेत । एमालेको निरन्तर अवरोधका कारण कर्णाली प्रदेशसभाको बजेट अधिवेशन अनिश्चततातर्फ धकेलिएको छ । विवाद समाधानका लागि हिजो आयोजना गरिएको सर्वदलिय बैठकमा मुख्यमन्त्री जीवनबहाहादुर शाही नै अनुपस्थित भए ।
सांसद रिक्त रहेका पाँच क्षेत्रमा पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको २४ करोड रकम बाँडफाँड गरिएको, सुदुरपश्चिम प्रदेशका आयोजना रातो किताबमा समेटिएको, मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत साढे ६ सयभन्दा बढी वडामा कार्यकर्तामुखि योजना बाँडिएको र पन्ध्र लाख भन्दा साना आयोजनामा बजेट वितरण गरिएको आरोपसहित एमालेले सदन अवरुद्ध गर्दै आइरहेको छ ।
एमालेले सदन अवरुद्ध गरेपछि आर्थिक वर्ष २०७८/०७९ को बजेट कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको थियो । पाँच वर्षे कार्यकालको अन्तिम बजेट पनि सरकारले अध्यादेशमार्फत ल्याउन सक्ने सम्भावना बढेको छ । हिजो सदनमा सर्वदलीय वैठकको आयोजना गरिएकोमा मुख्यमन्त्री शाही नै अनुपस्थित बनेको एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले बताए ।
‘प्रमुख प्रतिपक्षका मागप्रति सरकार अनुदार देखिएको छ,’ उनले भने । मुख्यमन्त्री शाहीले हिजो फेसबुकमा लेखेको स्टाटसलाई लिएर पनि एमालेले आपत्ति जनाएको छ । मुख्यमन्त्रीले लेखेका छन्, ‘भुस्याहा कुकुरको काम नै नचिनेको मान्छेलाई भुक्दै हिँडने हो । जब अगुल्टोले हनाई पाउँछ अनि कुईं कुईं गर्दै भाग्ने हो ।’ प्रमुख सचेतक शाहले मुख्यमन्त्रीको यस्तो स्टाटसलाई लाजमर्दो संज्ञा दिए । उनले भने, ‘मुख्यमन्त्री शाही बैठकमा सहभागी भएर समस्या समाधान गर्नको साटो स्टाटस लेख्दै हिँडनुहुन्छ,’ उनले भने ।
गत वर्षकै बाटोमा हिँडेर सरकारले अध्यादेशमार्फत नै बजेट ल्याउने तयारी गरेको उनले आशंका व्यक्त गरे । कर्णाली प्रदेश सभको वैठक २३ असार सम्मका लागि सरेको छ ।

Leave a Reply