काठमाडौं । जमल-दरबारमार्ग सडकमा गएराति हालेको अलकत्राका कारण आज यात्रुलाई सास्ती भएको छ ।
बिहानदेखिको चर्को घामले पग्लिएपछि पैदलयात्रा गर्ने यात्रुका जुत्ताचप्पल नै अलकत्रामा टाँसिएपछि सास्ती भोग्नुपरेको छ । चप्पलका फित्ता चुँडिएको, अलकत्रामै चप्पल अड्किएको भन्दै जुत्ताचप्पल त्यहीँ छाडेर खाली खुट्टा घर जानुपरेको यात्रुहरूको दुखेसो छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले भने रातिको समय भएकाले आश्यकताभन्दा केही धेरै अलकत्रा हालेकाले घामले पग्लिएर समस्या भएको बतायो । कार्यालय प्रमुख नारायणप्रसाद निहुरेले अहिले समस्या समाधान भइसकेको जानकारी दिए ।
उनले नेपाल प्रेससँग भने, ‘रातिको समयमा काम गर्दा आवश्यकता भन्दा बढी झरेछ । बालुवा छर्यो भने ठीक हुन्छ । आज बिहान चर्को घाम लागेका कारण त्यो पग्लिएर हिँड्डुल नै गर्न गाह्रो भएछ । त्यस्तो जानकारी पाइसकेपछि हामीले केही समयअघि नै बालुवा छर्किसकेका छौं । अहिले ठीक भइसकेको छ ।’


Leave a Reply