निजगढ विमानस्थल बन्न नदिने फैसलामा दुई न्यायाधीशको फरक मत (पूर्णपाठसहित)

काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाइने सम्बन्धी सर्वोच्च अदालतको पूर्ण इजलासको फैसलामा दुई जना न्यायाधीशले फरक मत राखेका छन् ।

पाँच जनाको पूर्ण इजलासमध्ये हरिकृष्ण कार्की र मनोज शर्माले ४० बुँदामा फरक मत राख्दै विमानस्थल  निर्माणसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर मात्र गरी शून्यको स्थितिमा छाडिदिँदा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको विमानस्थलको भविष्य नै अनिश्चित हुने र राज्यको ठूलो लगानी खेर जाने राय दिएका छन् ।

बहुमत न्यायाधीश विश्वम्भर श्रेष्ठ,ईश्वर खतिवडा र प्रकाशमान सिंह राउतले भने विमानस्थल निर्माण सम्बन्धमा भएका अहिलेसम्मका सबै निर्णय र काम कारबाही उत्प्रेषणको आदेशबाट बदर हुने फैसला गरेका छन् ।

बहुमत न्यायाधीशले विभिन्न वातावरणीय कारण, वन विनाश लगायतका आधार देखाउँदै निजगढको विकल्प खोज्नुपर्ने फैसला गरेका छन् ।
तर कार्की र शर्माले भने निजगढमै कम वन विनाश गरेरै विमानस्थल निर्माण गर्न सकिने राय दिएका छन् ।

न्यायाधीश ईश्वर खतिवडाले लेखेको ८८ बुँदाको फैसलामा अन्य तीन न्यायाधीशले सहमति जनाएका छन् । जसमा करिब २५ लाख वटा ठूला र पोल साइजका रुखहरू तथा असंख्य र मूल्यवान जैविक सम्पदाको विनाश हुन सक्ने भन्दै संविधानको धारा ३० मा रहेको वातावरण र विकासबीच समुचित सन्तुलन कायम गर्ने कुराको भावना र मर्म अनुकूल नदेखिएकाले निजगढमा विमानस्थल बनाउन नमिल्ने फैसलामा उल्लेख छ ।

फैसलामा मन्त्रिपरिषद्बाट २०७१ फागुन २९ मा गरिएको निर्णय तथा विमानस्थलका लागि ८० वर्ग किलोमिटर क्षेत्र उपलब्ध गराउने गरी राजपत्रमा प्रकाशित सूचना लगायत वातावरण मूल्यांकन प्रतिवेदनसहित सबै निर्णय र सूचनासहित भए गरेका कारबाहीहरू त्रुटिपूर्ण देखिएकाले उत्प्रेषणको आदेशले बदर हुने भनिएको छ ।

फैसलामा विभिन्न कारण देखाउँदै न्यूनतम रूपमा मात्र वातावरणीय क्षति हुने तथा प्राविधिक दृष्टिले उपयुक्त देखिएको स्थानमा विमानस्थल निर्माणको कार्य गर्न विपक्षीका नाममा परमादेश जारी हुने भनिएको छ । तर न्यायाधीश कार्की र शर्माले भने सो फैसलाबाट राज्यलाई ठूलो नोक्सानी हुने तथा गौरवको आयोजनाको काममा अदालती अवरोध ठिक नहुने राय दिएका छन् ।

यस्तो छ सर्वोच्च अदालतका फैसलाको पूर्ण पाठ

Comments

One response to “निजगढ विमानस्थल बन्न नदिने फैसलामा दुई न्यायाधीशको फरक मत (पूर्णपाठसहित)”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    न्यायालयका न्यायाधीशले विदेशी एजेण्टक‍ो एजेन्डामा अनेकौं तरहले प्रभावित भई गरेको निर्णयले देशलाई भड्खालोमा हाल्ने योजना हो तुरुन्त यो निर्णय बदर होस् यो हाम्रो सामरिक महत्त्व र विकासको ढोका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *