काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको १०४ पदको प्रशासनिक तथा प्राविधिकतर्फको परीक्षामा सबै परीक्षार्थी फेल भएका छन् ।
आयोगले मंगलबार सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा एकजना पनि उत्तीर्ण हुन सकेनन् ।
उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जना, शाखा अधिकृतमा ४० पदका लागि ५ सय ४२ जना, मुख्य कार्यालय सहायकमा ४३ पदका लागि ७ सय ७७ जना, आर्थिक उपनियन्त्रकमा दुई पदका लागि ३ जना, लेखा अधिकृत १५ पदका लागि १ सय २९ जना लिखित परीक्षामा सहभागी भएका थिए ।
लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा भने परीक्षार्थी उत्तीर्ण भएको जनाइएको छ । मर्यादाविपरीत गतिविधि गर्ने १३८ जनाको परीक्षा रद्द गरिएको छ ।
२०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ देखि फागुन २७ सम्म प्रशासनिक तथा प्राविधिक पदको परीक्षा सञ्चालन भएको थियो । उत्तीर्ण परीक्षार्थीको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता असार २८ गते त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोकमा बिहान ११ बजे तोकिएको छ ।

Leave a Reply