नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले जेलमै गएर भेटे रेशम चौधरी

कैलाली । कैलालीको स्थानीय तहमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका प्रमुख र उपप्रमुखले रेशम चौधरीलाई भेटेका छन् ।

कैलालीको चार पलिकाको प्रमुख र तीन पालिकाको उपप्रमुखमा नागरिक उन्मुक्तिका उम्मेदवारहरूले जितेका थिए । निर्वाचन भएको करिब २ महिना पछि सामूहिक रूपमा आज रेशम चौधरीलाई डिल्लीबजारस्थित कारागारमा भेट्न पुगेका हुन् ।

टिकापुर नगरपालिकाको प्रमुख रामलाल डगौरा, जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी र उपाध्यक्ष रेखादेवी कठरिया, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र उपप्रमुख राजु तिरुवा र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी र उपाध्यक्ष लालमति रावतले रेशम चौधरीलाई भेटेका हुन् ।

उनीहरूबीच करिब २ घण्टा छलफल भएको थियो । छलफलका क्रममा सुरूमा पार्टीका जनप्रतिधिहरूले अहिलेको अवस्थाबारे चौधरीलाई जानकारी गराएका थिए । सबैको प्रतिक्रिया सुनेपछि चौधरीले जनप्रतिनिधीहरूलाई राम्रो काम गर्न सुझाव दिएका थिए ।

‘अरू पालिकामा भन्दा तपाईँहरूले जितेको पालिकामा राम्रो काम हुनुपर्छ’ रेशम चौधरीले जनप्रतिनिधिलाई भनेका थिए, जनताको साशस होइन सेवक भएर काम गर्नुहोला ।’

जनप्रतिनिधि हिजो नै काठमाडौं पुगेका थिए । केही प्रतिनिधिले हिजो पनि चौधरीलाई भेटेका थिए । आज भने सामूहिक रूपमा भेट गरेका हुन् ।

भेटका क्रममा स्थानीय तहले राम्रो नीति तथा कार्यक्रम ल्याएको समेत चौधरीले बताए । चौधरीले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई कारागारबाटै नीति तथा कार्यक्रमको पनि सुझाव दिएका थिए ।

भेटमा चौधरीले अब पार्टीलाई कैलालीमा मात्र सीमित राख्न नहुने बताएका थिए । उनले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि जित्ने गरी तयारीमा लाग्न निर्देशन दिएका थिए ।

‘पार्टी कैलालीमा मात्र नभइ देशव्यापी रूपमा लैजान उहाँले सुझाव दिनु भयो’ रेशम चौधरीलाई भेटेर फर्किएका टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराले भने, ‘त्यहाँ पनि जित्ने गरी लाग्नुहोला भन्नुभएको छ ।’

कानुनी अड्चनले आफ्नो नाममा पार्टी दर्ता गर्न नपाएपछि रेशमकी श्रीमती रन्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी दर्ता गराएकी हुन् । गत माघमा निर्वाचन आयोगमा दर्ता भएको पार्टीले कैलालीमा १३ मध्ये चार पालिकामा जित हात पारेको थियो ।

स्थानीय तह निर्वाचनको परिणामले हौसिएको पार्टी अहिले संसदीय निर्वाचनमा केन्द्रित छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट भारी मतले विजयी भएका थिए । अहिले उनी कारागारमा छन् । अबको प्रतिनिधिसभा सदस्यमा उनकी श्रीमती चुनाव लड्ने तयारी गरेकि छन् ।

चौधरीले जनप्रतिनिधिलाई कैलालीमा मात्र नभई अन्य क्षेत्रमा पनि प्रभाव पार्ने गरी काम गर्न सुझाव दिएका छन् ।

संविधान जारी हुनुअघि ७२ साल भदौमा थरुहट प्रदेशको माग गर्दै भइरहेको आन्दोलनले टीकापुरमा हिंसात्मक रूप लियो । घटनामा आठ सुरक्षाकर्मी र एक नाबालकले ज्यान गुमाए । टीकापुर क्षेत्रमा थरुहट आन्दोलनको नेतृत्व गरिरहेका रेशम घटना भएपछि फरार भए ।

उनीसहितलाई अभियुक्त बनाएर अदालतमा मुद्दा चल्यो । रेशम भने फरार अवस्थामै ०७४ मा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । चुनाव जितेपछि कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरीसहित आठजनालाई जन्मकैदको सजाय भएको छ ।

थरुहट पक्षले अधिकारको आन्दोलनका क्रममा भएको घटना निर्दोषलाई जेल हालिएको भन्दै विरोध गर्दै आएको छ । टीकापुर घटना राजनीतिक भएकाले त्यसको समाधान पनि राजनीतिक रूपमै हुनुपर्ने उसको तर्क छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *