कैलाली । जातीय भेदभावको आरोप लागेका गृहमन्त्रालयका प्रशासकीय अधिकृत कृष्ण विडारी र उनकी पत्नीलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।
कैलालीका दीपा नेपालीमाथि विभेद गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा परेको थियो । विडारी दम्पतिले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपनि नेपाली त्यस विरुद्ध उच्च अदालत पाटन पुगेकी थिइन ।
सोमबार न्यायाधीश सुभाष पौडेल र सुदर्शनराज पाण्डेको इजलासले जिल्ला अदालतको फैसला अनुसार सदर गर्ने फैसला गरेको उच्च अदालत पाटनका रजिस्ट्रार नगेन्द्र केशरी पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।
पीडित नेपालीले २०७६ साल फागुन २२ गते आफूमाथि बिडारी दम्पतीले जातीय विभेद गरेको भन्दै जाहेरी दर्ता गराएकी थिइन । उक्त जाहेरीमाथि अनुसन्धान गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आफ्नै घरमा भाडामा बस्ने नेपाली र उनका भाइबहिनीमाथि छुवाछुत गरेको अभियोग लगाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतले भने बिडारीलाई सफाइ दिएको थियो । तर सरकारी वकिलको कार्यालय काठमाडौंले प्रमाण नहेरेको भन्दै उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । मंसिरमा दर्ता भएको पुनरावेदनमाथि उच्च अदालत पाटनमा सोमबार अन्तिम बहस भएको थियो ।
सोमबारको बहसमा पनि सरकारी वकिल चन्द्र सन्जेलले बिडारीले नेपालीमाथि जातीय विभेद गरेको प्रमाणका रूपमा आफूहरूले पेस गरेका भिडिओ र अडिओ हेर्न अनुरोध गरे पनि न्यायाधीशले भने उक्त भिडिओ हेर्ने प्रक्रियाबारे सोधेका थिए । सन्जेलले आफूहरूले उक्त भिडिओ पेस गरेकाले इजलासमै वा आफैँ हेर्न सक्ने बताएका थिए ।
न्यायाधीशले उनले पेस गरेका भिडिओ इजलासमा हेरेनन् । फैसलाको पूर्ण पाठ नआएकाले ती भिडिओबारे उनीहरूले के भन्छन् हेर्न बाँकी रहेको छ।

Leave a Reply