एआईजी पोखरेलले पठाएको दोस्रो बिदा पनि आईजीपी सिंहद्वारा अस्वीकृत

काठमाडौं। आफूलाई आईजीपी नबनाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका एआईजी विश्वराज पोखरेलले पठाएको दोस्रो बिदा पनि अस्वीकृत भएको छ।

पोखरेलले सोमबार ११ दिन बिदाका लागि प्रहरी प्रधान कार्यालयलाई निवेदन पठाए पनि आईजीपी धिरज प्रताप सिंहले अस्वीकृत गरेका हुन्। यसअघि जेठ २५ गते आईजीपी सिंहले पोखरेलले पठाएको १० दिनको बिदा पनि अस्वीकृत गरेका थिए।

पोखरेल वैशाख १९ गतेदेखि बिदामा रहेका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले बिदा पाउनुपर्ने उनको माग छ।

जेठ २५ गतेसम्मको बिदा स्वीकृत भए पनि त्यसपछि पोखरेलले बिदाका लागि पठाएको निवेदन दुई पटक अस्वीकृत भएको हो। प्रहरी प्रधान कार्यालयले तत्काल हाजिर हुन एआईजी पोखरेललाई निर्देशन दिएको छ।

आफूभन्दा १७ महिना जुनियर एआईजी सिंहलाई आईजीपि बनाइएको भन्दै पोखरेलले रिट हालेका थिए।

उनको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरिए पनि जेठ १७ गतेका लागि अन्तिम सुनुवाइको पेशी तोकिएको थियो।

तत्कालीन डिआइजीहरूको मुद्दामा पोखरेलको मुद्दा लगाउमा राखिएपछि त्यस दिन अन्तिम सुनुवाइ हुन सकेको थिएन।

जेठ ३० गतेदेखि सुरु भएको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।

पोखरेलको मुद्दाको अन्तिम सुनुवाइका लागि हेर्दाहेर्दैको आगामी पेशी असार १३ गतेका लागि तोकिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *