भूमिहीनलाई चाँडो जग्गाधनी पुर्जा दिन गृहमन्त्री खाँणको निर्देशन

रूपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले भूमिहीन सुकुमबासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिएका छन् । उनले भूमि आयोगलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेशस्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरेको अभिमुखीकरणमा बोल्दै मन्त्री खाँणले प्रक्रिया पूरा गरेर जति सक्दो चाँडो भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

पुर्जा वितरण गर्दा कुन पार्टीले जित्ला हार्ला भन्ने कुरालाई ध्यान नदिन उनले ध्यानाकर्षण गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले स्थानीय तहका जनप्रतिनिधिलाई पनि आयोगका कामकारबाहीमा सहयोग गर्न आग्रह गरे ।

‘सरकारले के गर्नुपर्छ, बजेट कति चाहिन्छ, सुरक्षा व्यवस्था मिलाउनुपर्ने हो कि, सबै काम गर्न सरकार तयार छ’, उनले भने, ‘भूमिहीनलाई जग्गाको मालिक बनाउने काममा स्थानीय सरकारको पनि ठूलो सहयोग चाहिन्छ । स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्न चाहन्छु पूर्ण सहयोग गर्नुहोला ।’

उनले भूमिहीनसम्बन्धी समस्या सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *