कम्युनिस्ट पार्टी एक भएर गएका थियौँ भने ५७५ पालिका जित्थ्यौँ : भुसाल (भिडिओ)

काठमाडौं । नेकपा एमालेभित्र वाम एकताको बहस चलाउँदै आएका नेता घनश्याम भुसालले स्थानीय चुनावमा आएको परिणामले यदि कम्युनिस्ट पार्टी एक भएर प्रतिस्पर्धा गरेको भए ५७५ वटा पालिका जित्ने दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले कांग्रेसको साथ लिएर १०६ बाट १२१ पालिका जितेका माओवादी त्यसै दंग परेको र गठबन्धनमा धोका भएको भन्दै एकीकृत समाजवादी अलमलिएको बताए ।

भुसालले अहिले पनि नेपालमा वाम जनमत बलियो रहेको र अहिलेका तीन वटा कम्युनिस्ट पार्टी मिलेर लडेको भए ५७५ सिट जित्ने दाबी गरे । अहिले पनि चुनावअघि नै वामपन्थी गठबन्धनको सम्भावना रहेको भुसालले बताए ।

भुसालले भने– चुनाव आइसक्यो असम्भव छ भन्दै छन् तर म भन्छु सम्भव छ । मैले माधव र प्रचण्डसँग धेरै पटक सोधेको छु,पछिल्लो पटक कमरेड ओलीसँग सोधेको छु । बिचारमा यो प्रचण्ड र माधवजीको पार्टीसँग के चाहिँ भिन्नता हो एउटा भन्दिनुस् । सिद्धान्तमा के भिन्नता,संगठनात्मक के भिन्नता । भिन्नता छ त केबल गालीगलौज छ ।

अहिले कांग्रेसले माछाको तेलमा माछा फ्राई गरेजस्तै कम्युनिस्टसँग मिलेर कम्युनिस्टलाई पराजित गर्न सफल भएको भुसालको टिप्पणी छ ।

पछिल्लो समयमा पार्टीभित्र उम्मेदवार समेत आउटसोर्सिङ गर्न थालिएको र कार्यकर्ताको औचित्य सकिएको भुसालको भनाइ छ ।

यही तरिकाले अब समाजवाद पनि आउटसोर्सिङ हुने अवस्था आउने भन्दै उनले दलाल पुँजीवाद अर्थमन्त्रलायभित्र करकार दर हेरफेर गर्न प्रवेश गरिसकेको बताए ।

Comments

2 responses to “कम्युनिस्ट पार्टी एक भएर गएका थियौँ भने ५७५ पालिका जित्थ्यौँ : भुसाल (भिडिओ)”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    घनश्याम भुसालका बोली र व्यवहारमा कतै तालमेल छैन् किनभने उनले नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउनदेखि लिएर जनादेश प्राप्त केपी ओली नेतृत्वको सरकार परमादेशबाट विस्थापित गर्न मुख्य भूमिका खेलेका थिए। हिजो वाम विभाजनमा सघाउने आज वाम गठबन्धनको गित गाउने काम भुसालले गरिरहेका छन्।
    पुष ५, २०७७ देखि आजसम्म घनश्याम भुसालले बोलेका कुरा र गरेका क्रियाकलापहरूले दक्षिणपन्थीहरूको ‘विभाजन र शासन’ नीतिलाई सहयोग पुग्ने काम गरिरहेको छ। माधव नेपाल र प्रचण्डले गरेका वामपन्थी विरोधी गतिविधिहरूको खुला विरोध त के आलोचना पनि गर्न सकेका छैनन्। गएको स्थानीय चुनावमा दक्षिणपन्थी कम्फर्टेबल गठबन्धनलाई होइन नेकपा एमालेलाई जिताऔं भनेर न लेख लेखे न त कतै बोले नै! अहिले पानीमाथिको ओभानो देखिन खोज्दैछन्।

  2. Nem kumar neupane Avatar

    काङ्ग्रेसकाे पाेलटामा सत्ता बुझाएकाे र पार्टी बिघटन गर्ने वातावरण बनाउन प्रचण्ड र माधवकाे दाेषै नदेख्ने र आफूले सहयाेग गरें भनेर पश्चात्ताप नगर्ने तपाईं हाेइन र घनश्याम जी । वाम एकताकाे नामकाे गुलियाे कुरा गर्न तपाईं जस्ताे हामीलाई आउँदैन । फिल्डमा खटेर रगत पसिना बगाएर पार्टी निर्माण गर्ने माेफसलका हामी जस्ताकाे विश्वासलाई विश्वासघात गरेर प्रतिक्रियावादीकाे पाउमा सत्ता सुम्पने तपाईं हाेइन ? जनताकाे मतमाथि बञ्चराे प्रहार गर्दै दलाल नाेकरशाहकाे हातमा सत्ता सुम्पने तपाईं हाेइन । मुलुककाे अर्थतन्त्रमा दलाल र विचाैलियाकाे प्रवेश माधव , प्रचण्ड , झलनाथ ,वामदेव र स्वयं तपाईं जस्ताकाे उग्रवाद ,दक्षिणपन्थता र अराजकता हाेइन ? अहिले फेरि वाम एकताकाे राग अलापेर प्रचण्ड र माधवकाे नेतृत्व स्वीकार्न हामीलाई बाध्य पार्न खाेज्ने ? सकिन्छ पार्टी अनुशासनमा रहेर एमालेलाई बलियाे बनाउन संगठन गर्नुस् नेता मानी रहनेछाैं । एमालेकाे आन्तरिक एकतालाई सुदृढ नगरेर गरिने वाम एकताकाे नाराले एमालेकाे संगठन ध्वस्त हुन्छ । जसरी नेकपा कालमा भएकाे थियाे । एकता र गठबन्धन एउटै घाेषणापत्र र सीट तालमेलबाट चुनावमा जाने हामीलाई स्वीकार्य छैन । स्वस्थ प्रतिस्पर्ध्दामा जाने र प्राप्त जनमतले हामीलाई ( वामहरूलाई ) बहुमत प्राप्त भयाे भने प्राप्त सीटकाे आधारमा सरकारमा साझेदारी गर्ने र प्रतिपक्षमा बस्नु परे जन सराेकार र समाजवादकाे दिशा तर्फ अग्रसर हुने कार्यक्रमका लागि संयुक्त आबाज र संयुक्त संघर्षमा जाने कुरा सम्म स्वीकार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *