एसिया कपमा छनोट भए फर्किन्छौँ : कप्तान रुविना

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीले एसिया कपमा छनोट भएर फर्किने बताएकी छन् ।

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि मलेसिया जानुअघि आयोजित बिदाइ कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘हामी सबैको आसालाई सफलतामा परिणत गर्न कडा मेहनत गरेका छौँ । हामी एसिया कपमा क्वालिफाइ भएर आउँछौँ । हामीलाई प्रेसर त छ, खेल्न जाँदा हार्छु भनेर त कोही जाँदैन । हामी सबैले धेरै मेहनत गर्छौँ कुनै बेला के कुरा मिल्दैन त्यसले गर्दा रिजल्ट सोचे अनुसारको आउँदैन ।’

मङ्गलवार आयोजित कार्यक्रममा बोल्दै रुविनाले युगान्डाविरुद्धको सिरिज नेपाली टिमका लागि फाइदाजनक भएको प्रतिक्रिया दिइन् ।

‘युगान्डासँगको सिरिज हाम्रो लागि एकदमै फाइदाजनक भयो । त्यहाँ हामीले हाम्रो स्तर साथसाथै कमी कमजोरी औँल्याउन सक्यौँ । त्यसपछि हामीले बिहान सात बजेदेखि दिउँसोको तीन बजेसम्म ट्रेनिङ गर्ने गरेका थियौँ । हामीले उपलब्ध स्रोत र साधनलाई राम्रो सँग प्रयोग गरेर ट्रेनिङ गरेका छौँ । राम्रो नतिजा लिएर फर्किने छौँ ।’ उनले थपिन् ।

मलेसियामा जुन १७ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल पुग्ने दुई टिम एसिया कपका लागि छनोट हुनेछन् । नेपाल रहेको समूह ‘बी’मा नेपालसँगै भुटान, बहराइन र हङकङ छन् ।

नेपाली टिमले जुन १७ मा भुटान, १८ मा कुवेत, २० मा बहराइन र २० मा हङकङसँग खेल्ने छ ।

मलेसिया भ्रमण गर्ने नेपाली टिमः
रुबिना क्षेत्री (कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योती पाण्डे, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ममता चौधरी, मनिषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, संगिता राई, अप्सरी वेगम, काजोल श्रेष्ठ, सबनम राई ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *