कुमारी आमा निहारिकाको अनसनमा महिला आयोग र मानव अधिकार आयोगको ऐक्यबद्धता

काठमाडौं । कुमारी आमा निहारिका राजपुतको आमरण अनसनमा राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगले ऐक्यबद्धता जनाएका छन् ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले निहारिकासहित आमरण अनसनरत युवा अभियन्ता जस्मिन ओझा र देव शर्मा अनसनरत स्थल बसन्तपुर दरबार स्क्वायरमा पुगेर आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

अनसनस्थल पुगेर अध्यक्ष पराजुलीले निहारिकाको मागअनुसार घटनाको छानबिन, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिसहितको न्यायको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् । उनले अनसनरत निहारिका र उनको बच्चाको स्वास्थ्य, सुरक्षा र जीवन रक्षाको लागि जतिसक्दो चाँडो पहल गर्न सरकारसँग माग गरेकी छन् ।

अध्यक्ष पराजुलीले पीडितलाई न्याय दिन राष्ट्रिय महिला आयोग निरन्तर लागिरहेको बताएकी छन् । उनले नेपाल प्रेससँग भनिन्, ‘हाम्रो समाजका कोही पनि छोरीले आफू हिंसा पीडित भएर, आफ्नो अधिकार सुनिश्चितताका लागि न्यायको लडाइँमा सहाराविहीन अनुभूति गर्नु नपरोस् ।’

पीडित निहारिकाले आफ्नो न्यायका लागि सबैलाई साथ दिन सामाजिक सञ्जालमार्फत आग्रह गरेकी छन् । शुक्रबार बिहानदेखि माइतीघर मण्डलामा आमरण अनसनरत उनलाई शुक्रबार राति १० बजे प्रहरीले नियन्त्रणमा लिएर हनुमानढोका हिरासतमा राखेको थियो । बिहान ८ बजे प्रहरीले छोडेपछि निहारिकाले बसन्तपुर दरवार स्क्वायरमा अनसनलाई निरन्तरता दिएकी छन् ।

आफूलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा कुटपिट पनि गरेको राजपुतले सामाजिक सञ्जालमा भिडियोमार्फत बताएकी छन् । प्रहरीले आफ्नो सानो बच्चालाई पनि कुटपिट गरेको उनले आरोप लगाएकी छन् ।

निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन । उनीसँग अहिले २१ महिनाको छोरा छ । आफुल बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफुलाई नै गलत देखाइएको उनको दाबी छ ।

प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै आफ्नो मुद्दालाई कमजोर बनाएर लगेको उनको आरोप छ । आफुले न्यायको लडाइमा न्यायलय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगलगायत सबै निकायबाट असहयोग पाएको गुनासो गर्दै आएकी छन् । आफ्नो घर परिवारबाट पनि तिरस्कृत हुुनुपरेको उनको भनाई छ । उनी साढे दुई वर्षदेखि काठमाडौंमा कोठा भाडा तिरेर बस्दै आएकी छन् ।

आफु न्यायको लडाइँमा हुँदा ज्यान मार्ने धम्कीदेखि आर्थिक प्रभलोपनसमेत देखाइएको उनले बताएकी छन् । परिवार, समाजबाट तिरस्कृत हुँदाहुँदै पनि आफुले हिम्मत नहारेको बताउने निहारिकाले न्यायलयबाट न्याय पाउने आशा गरेकी भए पनि अन्त्यमा राजनीतिक शक्ति र आर्थिक चलखेलका कारण न्यायलय पीडकको पक्षमा उभिएको उनको आरोप छ ।

जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते पीडकलाई सफाई दिएको थियो । जिल्ला अदालतको फैसला उपर आफुले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेकी थिईन । गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म पेशी नतोकिएको उनको गुनासो छ । आफुलाई न्यायलायको फैसलाप्रति कत्ति विस्वास नरहेको बताउने निहारिकाले यो लडाइँ आफ्नो मात्र नभएर हजारौं निहारिकाको भएकाले आफु आमरण अनसनमा बस्ने निर्णयमा पुगेको उनको दाबी छ ।

आफुले न्याय पाउनका लागि अन्तिम उपाय स्वरुप पाँच बुदेँ मागसहित आमरण अनसनमा बसेको निहारिकाको तर्क छ । आफ्ना पाँच बुदैँ माग पूरा नभएसम्म आफुलाई न्यायको प्रत्याभूति नहुने भन्दै त्यतिन्जेलसम्म अनसन नतोड्ने उनको दाबी छ ।

यस्ता छन्, निहारिकाका पाँच बुदेँ माग

१ मेरो बच्चाको डिएनए परीक्षण गरिनुपर्यो । काखमा बच्चाँ बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशले मेरो काखको बच्चा किन देखेनन् ? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो ? यसको निष्पक्ष छानबिन हुनुपर्यो ।

२ उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायलयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्यो।

३ मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्यो।

४ घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ । यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनुपर्यो। हिजो मेरो फितालो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृत, काखको बच्चालाई मतलवै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुपर्यो । उनीहरुमाथि पनि छानबिन हुनुपर्यो ।

५ मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुरा राज्यले सुनिश्चित गरिदिनुपर्यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *