काठमाडौं । त्यसो त नेपाल बलियो स्थितिमा पुगिसकेको थियो । तर, ब्याट्सम्यानका लागि लगातार ठूला प्रहार गर्नु सजिलो थिएन ।
विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार घरेलु टोलीसँग खेलिरहँदा आदिल मैदान प्रवेश गरेको पहिलो बलबाट आक्रामक बन्ने मुडमा देखिएका थिए ।
आदिल क्रिजमा प्रवेश गर्दा नेपालले ३६.२ ओभरमा ३ विकेट गुमाएर १७८ रन जोडेको थियो । आउट भइसकेका तीनमध्ये आसिफ शेख र देव खनालले अर्धसतक बनाएका थिए ।
उनिहरूसहित १९ रन बनाएका कुशल भुर्तेलले पनि सयभन्दा कमको स्ट्राइक रेटमा रन बनाएका थिए । तर, १८ वर्षीय आदिल आफूले सामना गरेको पहिलो बलमा एक रन जोडेका थिए भने दोस्रो बलमा छक्का प्रहार गरेका थिए ।
त्यसपछि आदिलले ३९ औँ ओभरमा रस्टी थेरनले दुई चौका प्रहार गरे । दबाबमा आएका थेरनले उक्त ओभरको एक बलमा वाइडसहित ५ रन पनि दिएका थिए। नेपालले ३९ ओभरमै २ सय रन कटाएपछि विशाल लक्ष्य दिन सक्ने अनुमान गरिएको थियो ।
४१ औँ ओभरमा आदिलले अमेरिकाका अनुभवी बलर अली खानलाई चौका प्रहार गरेपछि ती बलरले लगातार दुई बल वाइड फ्याँके । आदिलले ४४ औँ ओभरको पहिलो बलमा छक्का प्रहार गरेभने चौथो बलमा एलबीडब्लू धरापमा परे ।
आदिल आउट हुँदा नेपालले ४ विकेट गुमाएर २ सय ४३ रन जोडेको थियो । रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करन केसी, सोमपाल कामीहरु लगातार आउट भएपछि नेपाली टोली २६६-९ को अवस्थामा पुगेको थियो । अन्तत नेपाल ४९.२ ओभरमा अलआउट हुँदै २ सय ७४ रनमा समेटियो । २४ बलमा ३६ रन जोडेका आदिल सबैभन्दा बढी स्ट्राइक रेटमा ब्याटिङ गर्ने ब्याट्सम्यान रहेका थिए नेपाली टोलीमा । सयभन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गरेका अन्य दुई ब्याट्सम्यानमा आरिफले ६ बलमा ८ र सन्दीप लामिछानेले १० बलमा १० रन जोडेका थिए ।
अन्तत: नेपाललाई हारबाट जोगाउने जिम्मेवारी पनि आदिलले नै पाए । २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ४ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो । अन्तिम ओभरमा अमेरिकालाई ६ रन चाहिएको थियो र ६ विकेट साथमा थियो । आरोन जोन्स २४ र राहुल जरिवाला ८ रनमा खेल्दै थिए । ५० औँ ओभरमा बलिङ गर्ने जिम्मा सन्दीपले आदिललाई दिए ।
आदिलले ८ ओभरमा ४० रन दिएर २ विकेट लिसकेका थिए। उनले सुरुका लगातार तीन बलमा एक एक रन दिए । चौथो बल नोबल फ्याँकेपछि नेपालको हार लगभग निश्चितजस्तै बनेको थियो ।
तर, रन आउटबाट मात्र आउट हुन सक्ने त्यसपछिको बलमा उनले एक रन मात्र दिए । अमेरिकाले अन्तिम दुई बलमा १ रन जोड्नुपर्ने थियो। तर आदिलले पाचौँ बलमा जोन्सलाई क्याच आउट गराए भने छैटौँ बलमा दीपेन्द्रसिंह ऐरीले जरिवालालाई रनआउट गराए । नेपालले खेललाई रोमान्चक बराबरीमा ल्यायो र अंक बाँढ्यो ।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा आदिलको यो पहिलो खेल थियो । पहिलो खेलमै उनले प्लेयर अफ दी म्याचको अवार्ड पनि जिते । हेलिकप्टर सटका कारण चर्चामा आउने गरेका आदिलको नेपाली टोलीको यात्रा सुखद रहेको छ । यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आदिलले तीन खेलमा ६० रन बनाएका थिए र हरेकपटक दोहोरो अंकमा रन जोडेर आउट भएका छन् ।
जिम्बावेविरुद्धको लिस्ट ए खेलमा पनि उनले अविजित ४७ रनको पाली खेलेका थिए । जारी शृंखलाअन्तर्गत पहिलो खेलमा ओमानविरुद्ध प्लेइङ सेटमा नरहेका आदिल पछिल्लो प्रदर्शनका कारण अब टोलीको नियमित सदस्य बन्न सक्ने संकेत देखिएको छ ।

Leave a Reply