अमरेशकुमारको प्रश्न- महावाणिज्य दूतावास भएका देशसँग कारोबार छ कि छैन ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले परराष्ट्र मन्त्रालय मातहतका महावाणिज्य दूतावासको भूमिकाबारे प्रश्नचिन्ह खडा गरेका छन् ।

प्रतिनिधिसभामा जारी विनियाेजन विधेयकमाथिको छलफलमा बोल्दै उनले आवश्यकता नभएका देशका महावाणिज्य दूतावास बन्द गर्नुपर्ने बताए ।

‘परराष्ट्र मन्त्रालयले धेरै महावाणिज्य दूतावास खोलेकाे छ । त्यसले आर्थिक कूटनीतिमा कति सफलता हासिल गरेकाे छ नेपालले ?,’ सांसद सिंहले प्रश्न गरे, ‘त्यो कार्यालयको खर्च जति भएको छ, त्यति पनि त्यो देशसँग आर्थिक कारोबार भएको छ कि छैन ?’

पार्टीहरूले आफ्ना कार्यकर्ता, आफ्नै आसेपासे र केही थान कर्मचारीको लागि महावाणिज्य दूतावास खोल्ने प्रवृत्ति मौलाएको उनले आरोप लगाए । उनले भने, ‘त्यसले नेपाली जनतामाथि आर्थिक भार भइरहेको छ । त्यसमा ध्यान जानुपर्ने हुन्छ ।’

जुन देशमा नेपालको व्यापार छैन, त्यहाँको महावाणिज्य दूतावास बन्द गर्नुपर्ने सांसद सिंहले बताए । ‘हाम्रो व्यापार छैन, आर्थिक कूटनीति छैन, त्यहाँको महावाणिज्य दूतावास बन्द गर्नुपर्छ’, सिंहले भने ।

अब मुलुक पहिलाको जस्तो परम्परागत कूटनीतिभन्दा आर्थिक कूटनीतितिर जान जरुरी रहेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *