रवि लामिछानेभन्दा पहिल्यै दाइ हरिशरणको उम्मेदवारी घोषणा, रेडियो नेपालको ३० वर्षको जागिर छोड्ने

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने संसदीय चुनावमा उम्मेदवार लड्ने चर्चाका बीच उनका साक्खै दाजु हरिशरण लामिछाने पनि चुनावी दौडमा सामेल भएका छन् ।

रेडियो नेपालका पुराना समाचारवाचक लामिछानेले काठमाडौं वा काभ्रेबाट स्वतन्त्र उम्मेदवारी दिने अनौपचारिक घोषणा गरेका हुन् ।

दुई दिनअघि सामाजिक सञ्जालमा लामिछानेले आफूलाई अन्तस्करणले सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेस हुन प्रेरित गरेको बताएका थिए ।

‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु, सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु,’ उनले लेखेका छन् ।

नेपाल प्रेससँगको कुराकानीमा लामिछानेले आफू काभ्रे वा काठमाडौंमध्ये एक जिल्लाबाट चुनाव लड्ने बताए ।

उनको गृहजिल्ला काभ्रे हो भने कार्यक्षेत्र काठमाडौं हो ।

‘काठमाडौं–२ वा काभ्रे–२ मध्ये एउटा रोज्नुपर्ला, साथीभाइहरूसँग छलफलपछि निर्णयमा पुग्छु,’ उनले भने ।

केही स्वतन्त्र उम्मेदवारहरूले टिम नै बनाएर अगाडि बढ्ने गृहकार्य गरिरहेकाले पनि आफूले पर्खेको लामिछानेले बताए ।

‘म कसैसँग सम्पर्कमा त आइसकेको छैन, तर स्वतन्त्रहरू मिलेर जाँदा राम्रो हुन्छ भन्नेमा म पनि सहमत छु,’ उनले भने ।

हरिशरणका भाइ रवि लामिछानेले पनि चुनावमा उठ्नेबारे गृहकार्यमा छन् । हरिशरणले भने रवि चुनाव लड्ने सम्भावना कम रहेको संकेत गरे ।

‘उसको कुरा पनि पहिलेदेखि नै आइरहेको छ । तर, मेरो विचारमा उसले अहिले चुनाव लड्दैन होला । भर्खरै टेलिभिजन सेट अप भइरहेको छ । त्यहाँ उसको जिम्मेवारी हुन्छ । त्यो नै उसका लागि प्लेटफर्म हो नि जनताको काम गर्ने,’ लामिछानेले भने ।

चुनावमा उम्मेदवार बन्ने विषयमा दाजुभाइबीच सरसल्लाह नभएको उनले बताए ।

‘भाइसँग मेरो छलफल भएको छैन । यदि हामी दुवैले उम्मेदवारी दियौँ भने पनि त्यसलाई स्वभाविकरुपमै लिनुपर्छ,’ लामिछानेले भने ।

रेडियो नेपाल छोड्ने

हरिशरण ३ दशकभन्दा लामो समयदेखि सञ्चारक्षेत्रमा छन् । उनले रेडियो नेपालमा समाचारवाचकको रूपमा जागिर सुरु गरेको नै करिब ३० वर्ष भइसक्यो । हाल उनी रेडियो नेपालका प्रधान सम्पादक हुन् ।

रेडियो नेपालको जागिर छोडेर राजनीतिमा आउने हरिशरणको तयारी छ । उनी भन्छन्, ‘उम्मेदवारीको औपचारिक घोषणासँगै रेडियो नेपालको जिम्मेवारीबाट अलग हुन्छु ।’

सरकारले संसदीय निर्वाचनको मिति घोषणा गरेपछि आफूले पनि उम्मेदवारीको औपचारिक घोषणा गर्ने लामिछानेले बताए ।

Comments

One response to “रवि लामिछानेभन्दा पहिल्यै दाइ हरिशरणको उम्मेदवारी घोषणा, रेडियो नेपालको ३० वर्षको जागिर छोड्ने”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    केही गर्नुपर्दैन घोषणा जसजसले जे जे गरे नि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *