मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए-सिजन २ का प्रतिस्पर्धीहरूलाई स्वागत

काठमाडौं । मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए–सिजन २ को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरूलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ ।

इन्ट्रा फाउन्डेसन, नेपाल च्याप्टरको आयोजनामा अमेरिकाबाट आएका २४ जना प्रतिस्पर्धीसहित ४२ जनालाई विमानस्थलमा स्वागत गरिएको हो । पञ्चेबाजासहित उनीहरूलाई स्वागत गरिएको थियो ।

स्वागतपश्चात् त्रिभुवन विमानस्थलबाट २ दर्जन बढी मोटरसाइकल र्‍यालीसहित २४ प्रतिस्पर्धीलाई आयोजकले ठमेलको मुलबरी होटलमा पुर्‍याइएको थियो ।

ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रवार र शनिवार प्रसारण भइरहेको यो शोको बाँकी १० भागको छायांकन नेपालमै हुनेछ । कार्यक्रमको फाइनल भने अमेरिकामा नै हुने आयोजकले जनाएको छ ।

अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरूले भाग लिएको प्रतिस्पर्धा अन्तर्गत ‘मेरो भ्वाइस कप–२’को उत्कृष्ट १२ मा शीतल शर्मा, मुना लकान्ड्री, बाबु खालिङ, करण तामाङ, प्रेम अङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी र लीला गजमेर, संगीता बोगटी छन् ।

यस्तै, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सव्य विष्ट, सुमिका तामाङ, आयुषा समाल लगायत छन् ।

यी दुवै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको दुवै रियालिटी शोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरूलाई विश्वमाझ चिनाउन मद्दत गरेको कार्यक्रम संयोजक इन्द्र बानियाले जानकारी दिए ।

‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन् ।

यस्तै, ‘मेरो डान्स कप, यूएसए’को निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, केकी अधिकारी, शंकर बिसी, सञ्चिता लुइँटेल र नरमान राई छन् । दुवै कार्यक्रमको सञ्चालन नायिका रीमा विश्वकर्मा र राजेश घतानीले गर्नेछन् ।

कार्यक्रममा फाउन्डेसनका नेपाल च्याप्टर अध्यक्ष दिलीप रायमाझीले अमेरिकाबाट आएका प्रतिस्पर्धीहरूलाई स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *