सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई ग्रीन सिटी बनाउन एक घर दुई विरुवा रोपेर सहयोग गर्न नगरवासीलाई अनुरोध गरेकी छन् । विश्व वातावरण दिवसको अवसरमा वीरेन्द्रनगरमा आँपको विरुवा रोप्दै उनले यस्तो आग्रह गरेकी हुन् ।
‘वीरेन्द्रनगरको वातावरणसँग सहरीकरणलाई जोड्न खोज्दैछौं । त्यही भएर हामीले फलफूलका ३५ सय विरुवा रोप्न सुरु गरेका हौं’, प्रमुख ढकालले भनिन्, ‘विरुवा रोपेरमात्रै हुँदैन । हरेक नगरवासीले विरुवाको संरक्षण तथा सम्बर्द्धन गर्न आवश्यक छ । एक घर दुई विरुवा रोप्न सकेको खण्डमा हरियाली वीरेन्द्रनगर बनाउन सक्छौं ।’
उनले पुराना विरुवा विस्थापन गर्दै नयाँ बनेका सडकको दुवैतिर विरुवा रोप्न लागिएको बताइन् । विरुवा संरक्षण गर्ने दायित्व सबैको भएको बताउँदै मेयर ढकालले विरुवाको संरक्षण गर्न सहयोग गरिदिन नगरवासीलाई आह्वानसमेत गरेकी छन् ।
वीरेन्द्रनगरमा आँप, अम्बा, तेजपत्ता, फडहर, कटहर, एभोकाडोलगायतका विरुवा रोपिएको छ ।

Leave a Reply