‘म पनि सिसडोलको भुक्तभोगी हुँ, मेयरलाई काम गर्न समय दिउँ’

काठमाडौं । काठमाडौंबासीले गरेको फोहोर विर्सजन गर्ने स्थान ककनीको सिसडोल अहिले चर्चामा छ । बालेन्द्र साह काठमाडौंको मेयरमा निर्वाचित भएपछि दुईपटक यहाँ स्थलगत अवलोकनमा पुगिसको छन् ।

शुक्रबार मेयर बालेन्द्र सिसडोल पुग्दा केही स्थानीयबासीसँग उनको चर्काचर्की नै पर्यो । स्थानीयबासीले कडा-कडा माग तेर्स्याउँदै उत्तेजितरूपमा प्रस्तुत भएपछि मेयरले पनि उनीहरूलाई कडा जवाफ फर्काएका थिए । स्थिति लगभग तनावपूर्ण नै बनेको थियो ।

आखिर के हो त स्थानीय जनताको समस्या ? उनीहरूले बोलेका कुराहरू कति यथार्थ र कति अतिरञ्जित हुन् ? सिसडोलको फोहोरको पहाडनजिकै घर भएका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ लाई हामीले सोध्यौं । स्मरणीय छ कि बालेन्द्र मेयर निर्वाचित भएपछि सपथग्रहण गर्नुअघि पाँडेले नै उनलाई सिसडोल पुर्‍याएका थिए ।

पाँडेको भनाइमा सिसडोल नजिकका स्थानीयबासीले धेरै समस्याहरू भोग्नुपरेको यथार्थ हो । तर, अस्ति मेयरसँग केही स्थानीयको प्रस्तुति अतिरञ्जित रहेको उनी बताउँछन् । फोहोरको इस्यूलाई यहाँ राजनीतिकरण गर्ने प्रयाससमेत भएको उनको टिप्पणी छ ।

‘समस्या नभएको होइन छ,’ पाँडेले भने, ‘तर, हामीले नयाँ मेयरलाई केही समय दिनुपर्छ । अहिलेको अहिल्यै समाधान गर भन्ने तरिकाले पेस हुनु भनेको असहयोग गर्नु मात्रै हो ।’

सिसडोलको फोहोरका सम्बन्धमा पाँडेले नेपाल प्रेससँग यस्तो बेलिबिस्तार लगाएः

म ककनी गाउँपालिकाको वडा नम्बर २ स्थित न्यौपाने गाउँको बासिन्दा हुँ । मेरो गाउँ सिसडोलको फोहोरबाट सबैभन्दा प्रभावितमा पर्छ । फोहोर पहाडभन्दा केवल १०० मिटर दूरीमा मेरो घर छ । विगत १७-१८ वर्षदेखि यहाँको फोहोरको भुक्तभोगी छु ।

सबैभन्दा पहिलो समस्या त दुर्गन्ध हो । दुर्गन्ध २४ सै घन्टा झेल्नुपर्छ । घाम नलागेको बेला अलि कम र घाम लागेको बेला बेसी गन्हाउँछ । स्थानीयबासी अभ्यस्त भइसकेका छन् फोहोरको गन्धसँग ।

भात खाँदा एउटा हातले झिँगा धपाउँदै खानुपर्छ । श्वासप्रश्वाससम्बन्धी रोग गाउँभरि फैलिएको छ । धेरै स्थानीयबासी क्यान्सरबाट पीडित छन् । छालाका रोगहरू त्यत्तिकै छन् । अर्कोतर्फ फोहोरका कारण कृषि बालीमा प्रभाव परेको छ । फोहोरको हिलो खोलामा फालिदनाले तलतिर कृषिबालीहरू नष्ट भइरहेका छन् । चील, गिद्दहरूले डम्पिङ साइटबाट फोहोर टिपेर गाउँभरि खसाल्छन् । सफा गर्दाको सास्ति हुन्छ । चील, गिद्दले आची गरेको ठाउँमा पनि बालीनाली मरिरहेका छन् । यहाँका कुकुरहरूले सिनो खाँदा खाँदा गाउँका बाख्रादेखि मान्छे टोक्ने हिंस्रक भइसके ।

अव्यवस्थित तरिकाले फोहोर डिस्पोज गरिनु अर्को समस्या हो । फोहोर लैजाने गाडीहरूले कुनै मापदण्ड मान्दैनन् । बाटोभरि फोहोरको रस चुहाउँदै ओभरस्पिडमा हिँड्छन् । राति मात्रै फोहोरको गाडी ल्याउने सम्झौता गरिएको भए पनि त्यसको कार्यान्वयन भएको छैन ।

तत्कालको मुख्य कुरा भनेको फोहोर व्यवस्थित तरिकाले फाल्नुपर्‍यो र गन्ध हटाउनुपर्‍यो । फोहोरबाट निस्किएको लिकेज खोलामा हाल्नु भएन । यी जायज मागहरू हुन् । स्वास्थ्य समस्यासम्बन्धी स्थानीयले उठाएका कतिपय कुरा पनि जायज छन् तर अतिरञ्जित गरिएका छन् ।

अस्ति मेयरसा’बसँगको छलफलमा एकजनाले मेरी आमा फोहोरको समस्याका कारण बित्नुभएको भनेर अफवाह फैलाउनुभयो । त्यो गलत हो । मेरी आमालाई ब्रेन ह्यामरेज भएको थियो । फोहोरको कारण होइन । जसले यसरी मेयरसा’ब झूटो बोल्नुभयो, उहाँ ककनीको ३ नम्बर वडामा कांग्रेसका पराजित उम्मेदवार हुनुहुन्छ ।

यहाँ फोहोरको समस्यालाई राजनीतिकरण गर्न खोजिएको छ । २१ वर्षदेखि संघर्ष समिति भनेर फाइल बोकेर हिँड्नेहरूले बनाएको दुर्दशा हो यो । अहिले उनीहरू नै अगुवा भएर हिँडिरहेका छन् । हामीले रोकेको फोहोर भन्दै कराइरहेका छन् ।

अहिले जग्गा अधिग्रहणको इस्यू उठाइएको छ । तीनपिप्लेदेखिकै करिब ४ सय रोपनी जग्गा राज्यले अधिग्रहण गर्नुपर्ने भनिएको छ । यो पनि अतिरञ्जित माग हो । राज्यलाई चाहिने जति जग्गा पहिल्यै अधिग्रहण गरिसकेको छ । अधिग्रहण भएका जग्गामा स्थानीयले मुआब्जा पाइसकेका छन् । मुआब्जा लिएर काठमाडौंमा घर ठड्याउनेहरू नै अहिले चर्को स्वरमा कराइरहेको देख्दा उदेक पनि लाग्छ । ४ सय रोपनी अधिग्रहण गर्ने कुरा एक त अनावश्यक हो, अर्को यो महानगरको लेभलबाट हुने पनि होइन । यसका लागि धेरै ठूलो रकम चाहिन्छ । यति ठूलो रकम खर्च गर्ने हो भने त काठमाडौंको फोहोर नुवाकोट ल्याइरहनै पर्दैन, काठमाडौंमै व्यवस्थापन हुन सक्छ ।

खासगरी मेयर सा’बले भनेजस्तै केमिकल हालेर फोहोर नगन्हाउने बनाउने हो भने तत्काललाई एउटा समस्या हल हुन्छ । यो ठूलो कुरा होइन, तर आजसम्म यति पनि गरिदिएनन् । हिजो नास्टको एउटा टोली आएर यहाँबाट नमूना लिएर गएको छ । अब स्याम्पल रिपोर्ट आएपछि कुन केमिकल हाल्दा सबैभन्दा राम्रो हुन्छ भन्ने टुंगो होला । केमिकलले पनि स्थानीयलाई नकारात्मक असर गर्नु भएन र फोहोर गन्हाउन छोड्नुपर्‍यो भन्ने हो । तर, यो पनि दिगो समाधान होइन । बञ्चरेडाँडा लैजानुअघि सिस्डोलको फोहोरको पहाडलाई व्यवस्थापन गर्ने कुरा मुख्य हो ।

भर्खर नयाँ मेयर आउनुभएको छ । उहाँलाई केही समय काम गर्ने वातावरण दिनुपर्छ भन्ने मेरो धारणा हो । उहाँले गरेको काम हेरिसकेपछि पो राम्रो-नराम्रो भन्न मिल्छ । आएको चार दिनमै यस्तो उस्तो भनेर राजनीतिक इस्यू बनाउनु भएन । राज्यले वञ्चरेडाँडामा ३-४ अर्ब खर्च गरिसकेको छ । फोहोरको विधेयेक पनि मन्त्रीपरिषद्ले पास गरेको छ । त्यसका आधारमा राज्यले चाहेको खण्डमा जति पनि फोहोर लैजान सक्छ । तर, पनि गाउँबासीलाई सन्तुष्ट बनाएरै जाउँ भनेर मेयर अहोरात्र लाग्नुभएको छ । उहाँलाई हामी सबैले सहयोग गर्नुपर्छ । नचाहिँदा विषयवस्तुहरू उराल्दा राष्ट्रव्यापीरूपमै नकारात्मक सन्देश जान्छ ।

अहिले मुख्य प्रभावित बनेका नुवाकोटका ककनी गाउँपालिका र धादिङको धुलिबेसी नगरपालिका हुन् । ककनीका १, २ तथा धुलिवेसीका १, ३ र ४ हुन् । ककनीको २ नम्बर मूख्य प्रभावित हो । यहाँको चलेटार भन्ने ठाउँ फोहोरको डंगुरबाट दुई मिनेट दूरीमा छ । लगभग फोहोरको डंगुर र घरहरू सँगसँगैजस्तो छन् । त्यसपछि हाम्रो न्यौपाने गाउँ आउँछ । हाम्रो गाउँभन्दा १०० मिटरमाथि बिरुवा भन्ने गाउँ छ । यस्तै वञ्चरेबाट ५० मिटरमा तल्लो सिउरीनी छ । यस्तै, धुलिबासीको १ नम्बर वडाका पाठक गाउँ, उप्रेती गाउँ, साना गाउँ, टि गाउँहरू बढी प्रभावित छन् ।

एउटा राष्ट्रिय कलाकार भएको हिसाबले आफ्नो गाउँठाउँको संरक्षणमा योगदान गर्नु मेरो पनि दायित्व हो । आजसम्म त केही गर्न सकिएन । तर, अहिले मेरै पुरानो साथी मेयर निर्वाचित हुनुभएको छ । उहाँसँग मेरो पहिल्यैदेखि राम्रो सम्बन्ध थियो । चुनावमा पनि सकेसम्म सघाएँ । चुनाव जितेलगत्तै मैले नै सिसडोल पुर्‍याएको हुँ । उहाँले फोहोको समस्यालाई पहिलो प्राथमिकतामा राख्नुभएको छ, जुन हाम्रो लागि खुसीको कुरा हो । उहाँलाई मैले यहाँको सबै वस्तुस्थिति बताइसकेको छु । सबै सुनेपछि उहाँले के भन्नुभयो भने यहाँ भइरहेको पापको भागीदार सबै काठमाडौंबासी हुन् । यो समस्या समाधान गर्छु भनेर लागि पर्नुभएको छ ।

अहिले स्थानीय जनप्रतिनिधिहरूले उहाँलाई साथ दिन्छौं भनेका छन् । सबै पोजिटिभ नै छन् । तर, दुई/चार जनाले आफ्नो व्यक्तिगत स्वार्थ र आर्थिक लाभ हेरेर नाजायज मागहरू राखिरहेका छन् । सुक्ष्म तरिकाले हेर्दा २१ वर्षसम्म सिसडोलले फोहोर खायो । सिसडोलमा फोहोर खसुञ्जेल अहिले बोल्न आउने मान्छेहरू कहाँ थिए ? बञ्चरेमा खस्ने भनेपछि बोल्न आउनुको कारण भनेको त्यतातिर जग्गा भएकाहरूले आर्थिक लाभको निम्ति नै हो । म सबैलाई आग्रह गर्न चाहन्छु कि यस्तो प्रवृत्ति रोकौं । मेयरलाई काम गर्न दिउँ ।

Comments

2 responses to “‘म पनि सिसडोलको भुक्तभोगी हुँ, मेयरलाई काम गर्न समय दिउँ’”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    अर्जुन घिमिरे पाडे यो तपाईंको प्रस्तुति पनि एकतर्फी देखियो । सिसडोल फोहोर व्यवस्थापन काठमाडौं महानगर को मात्र होइन यो ठाउँ काठमाडौं को छेउमा भएकोले त्यस्तो देखिएको हो उपत्यकाका ललितपुर महानगरपालिका र अन्य २ नगरपालिका भक्तपुर का ४ वटा नगरपालिका काठमाडौं अन्य नगरपालिका सहितको हो यसको निकास काठमाडौं ले मात्र दिने होइन यो नेपाल सरकारले निराकरण गर्ने विषय हो यहाँ हिजो काठमाडौं का मेयर बिद्या सुन्दर शाक्य र नेकपा एमालेलाई बद्नाम गर्न रचिएको फण्डा थियो त्यो अहिलेका मेयरले पनि अनावश्यक राजनीतिक भुमरीमा फस्नु परेको छ ,के यो काठमाडौं महानगरपालिका मात्र को हो कीर्तिपुर शङ्खरापुर कागेश्वरी मनहरा गोकर्णेश्वर चन्द्रागिरी टोखा तारकेश्वर दक्षिणकाली नागार्जुन बुढानिलकण्ठ भक्तपुर को चागुनारायण सुर्य विनायक भक्तपुर मध्यपुरठिमी ललितपुरको महालक्ष्मी गोदावरी र स्वयम ललितपुर महानगरपालिका को पनि उत्तिकै दायित्व होइन न र, त्यसकारण यो अत्तिरन्जित गरिएकाे विषय हो त्यसमा नकारात्मक व्यक्तिहरूको बढी चलखेल छ । के यो समस्या राज्यको होइन हो भने काठमाडौं का मेयरको पनि अतिवाद देखिन्छ र उहाँका आसेपासेको पनि यसमा काठमाडौंका मेयर बालेन चिरिबाबु लगायत सबैको उत्तिकै दायित्व छ यसलाई केन्द्रीय सरकारले हस्तक्षेप गरि फोहोर राजनीति हटाउनु पर्छ यहाँ कोही भगवान होइन र छैन मानवीय गुण र दोषमा चल्नुपर्छ । धन्यवाद

    1. Nirmala Avatar
      Nirmala

      Too good 👍

Leave a Reply

Your email address will not be published. Required fields are marked *