दलितको कीर्ते कागज बनाएर कार्यपालिका सदस्य उठेका मियाँको उम्मेदवारी रद्द

काठमाडौं । रौतहटको गुजरा नगरपालिकामा मुस्लिमबाट दलित भएर नगर कार्यपालिका सदस्यमा उम्मेदवारी दर्ता गराएका मोहमद आरिफ मियाँको उम्मेदवारी रद्द भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय गुजरा नगरपालिकाका अनुसार मियाँले आफू दलित समुदायको व्यक्ति भएको भन्दै दलित प्रमाणित गराएर उम्मेदवारी दर्ता गराए थिए

मियाँले वडा अध्यक्षलाई आफ्नो बसमा ल्याएर मुस्लिमबाट दलित हुनका लागि वडा अध्यक्षको सिफारिसबाट इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट दलित प्रमाणित गर्दै नगर कार्यपालिका सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए ।

मुस्लिम समुदायको व्यक्ति भएर दलित समुदायको व्यक्ति भएको भन्दै गैरकानूनी कागज बनाएर उम्मेदवारी दर्ता गराएको भन्दै उनी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उक्त उजुरीबारे निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

निर्वाचन आयोगले गाउँ कार्यपालिका र नगर कार्यपालिका सदस्य निर्वाचन सम्बन्धी निर्देशिका, २०७८ र स्थानीय तहको निर्वाचन सम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक निर्णय गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

यसै विषयमा नेपाल प्रेसले वडाध्यक्ष हारेका मुस्लिम नेता कार्यपालिका सदस्य बन्न रातारात यसरी बने दलित भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

नेपाल प्रेससँगको कुराकानीमा गुजरा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शेख जमालुदिनले आफूबाट गल्ती भएको स्वीकार गर्दै यसलाई सच्याउने बचन दिएका थिए । लगत्तै उनले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरलाई आफूले मोहमद आरिफ मियाँलाई दलित प्रमाणित गरिदिन भनेर गरेको सिफारिस गलत भएको पत्राचार गरेपछि इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले निर्वाचन अधिकृतको कार्यालयलाई मियाँको उम्मेदवारी रद्द गर्न निर्देशन दिएको इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख गणेश नेपालीले नेपाल प्रेसलाई जानकारी दिए ।

त्यसै अनुसार निर्वाचन अधिकृतको कार्यालयले शनिवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा मियाँको उम्मेदवारी रद्द गरेको हो ।

दलित प्रमाणित गरेर पत्राचार गर्ने कार्यालयले नै उम्मेदवारी रद्द गर्न निर्देशन दिएपछि मियाँको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत बद्रीनारायण शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *