काठमाडौं-तराई-मधेस फास्ट ट्रयाक सुरुङको काम रोकियो

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट-ट्रयाक) काम तत्कालका लागि रोकिएको छ ।

निर्माणाधीन सुरुङको गुणस्तरीय परीक्षणका लागि तत्काललाई काम स्थगित गरिएको हो । निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनका कर्मचारी फेरिएपछि परामर्शदाताले अध्ययन सुरू गरेको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले फास्ट-ट्रयाकको काम केही समयको लागि रोकिएको बताए ।

उनले भने, ‘निर्माण कम्पनीका केही कर्मचारी फेरिएका छन् । यसभन्दा अघिसँगको कामको गुणस्तरीय छ कि छैन भनेर अध्ययन हुन्छ । अब १ हप्तासम्म अध्ययन गरेर काममा के के कमजोरी भएको भए सुधार गर्ने र गुणस्तरीय भएको रहेछ भने निरन्तर काम अगाडि बढ्नेछ ।’

फास्ट-ट्रयाकमा पर्ने ११ वटा प्याकेजमध्ये प्याकेज १ र २ को सुरुङ मार्गको काम भहिरहेको थियो । बेलाबेला गुणस्तर परीक्षण गरी पुनरावलोकन गर्ने प्रचलन नै रहेको सिलवालले बताए । अध्ययन सकेर अर्को साताबाट काम सुरु हुने पनि उनले जानकारी दिए ।

फास्ट ट्रयाकमा गत वर्षको चैतदेखि सुरुङ खन्ने काम सुरु भएको थियो । हालसम्म प्याकेज १ र २ को करिब २५ मिटर सुरुङ निर्माण गरिसकिएको छ ।

२०८१ मंसिर महिनाको अन्त्यसम्म सम्पन्न गर्ने गरी सम्झौता गरिएको फास्ट ट्रयाकमा अहिलेसम्म करिब ३२ अर्ब खर्च भइसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *