प्रभावकारी बन्दै दुर्गममा राष्ट्रपति महिला उत्थान कार्यक्रम, १० महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी देखिएको छ । दुर्गमका नेपालीहरुले याे कार्यक्रमअन्तर्गत सुविधा लिन थालेसँगै कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएकाे हो ।

सरकारले यो कार्यक्रम आर्थिक वर्ष २०७५/७६ बाट सुरु गरेको थियो । कार्यक्रम लागू भए पनि कतिपय सर्वसाधारणलाई यस विषयमा जानकारी नै नहुँदा कतिपय स्थानमा गर्भवती तथा सुत्केरी महिलाहरुले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । आफूहरुलाई सरकारले निःशुल्क रुपमा यसरी गर्भवती तथा सुत्केरीको उद्धार गरी उपचार गर्छ भन्ने नै थाहा नभएको दुर्गमका कतिपय सर्वसाधारणको भनाइ छ ।

थाहा हुँदा पनि कहाँ कसलाई कसरी सम्पर्क गर्ने भन्ने विषयमा कुनै अत्तोपत्तो नहुँदा यो सेवाबाट बञ्चित हुनु परेको ओखलढुंगाको लिखु गाउँपालिका वडा नं ८ का स्थानीय पूर्णबहादुर श्रेष्ठको भनाइ छ । तर, जनप्रतिनिधिले आफूहरुलाई सहयोग गरेर आफ्नो बुहारीको ज्यान बचाउन सफल भएको उनले बताए ।

ओखलढुंगामा मात्र नभएर पछिल्लो समय देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिकाका कारण गर्भवती तथा सुत्केरी महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको छैन ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भइसकेको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रम सुरु भएयता आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ३६२ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २६ जना, २०७६/७७ मा ८७ जना, २०७७/७८ मा १०३ जना र चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म १४६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *